मतदाताले भने न त घोषणापत्र पढ्न पाएका छन् न त घोषणापत्रमा समेटिएका प्रतिबद्धता पूरा हुनेमै विश्वस्त छन् ।
राजनीतिक दलहरुले सार्वजनिक गरेको घोषणापत्रमा १० वर्षभित्र प्रतिव्यक्ति आय १० लाख पुर्याउने गरी राष्ट्रिय अर्थतन्त्रको विकास गर्नेदेखि पाँचओटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने, प्रत्येक वर्ष ३२ लाखभन्दा बढी पर्यटक नेपाल भित्र्याउने र युवालाई आफ्नै देशभित्र रोजगारी दिनेजस्ता महत्वाकांक्षी विषय समेटिएका छन् ।
स्थानीय तह निर्वाचनका बेला सार्वजनिक गरिएको घोषणपत्रमा गरेका प्रतिबद्धताप्रति नै जिम्मेवारीविहीन बनेको भन्दै मतदाताहरु दलका घोषणापत्र ‘देखाउने दाँतमात्र हो’–भन्छन् ।
विराटनगरका जयबहादुर खड्का मतदानका लागि उत्साहित भएपनि दलहरुका प्रतिबद्धता भने पूरा नहुने बताउँछन् ।
खड्कामात्र नभइ धेरैजसो मतदाता प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पनि राजनीतिक दलहरुले भने जसरी देशको विकास नहुने बताउँछन् ।
जब चुनावी माहोल सुरु हुन्छ, तब–तब सबै राजनीतिक दललाई देशको विकास गर्ने झुटा रहर जागेर आउँछ । देश विकास गर्ने, देशलाई आर्थिक समृद्धितर्फ लैजाने र सम्भव नै नभएका विषय पनि जोडेर जसरी पनि चुनाव जित्ने हत्कन्ठा अपनाउने गरेको उनीहरुको भनाइ छ ।
सम्भव भएका र पूरा गर्नसकिने विषयमात्र घोषणपत्रमा समावेश गरे जनताको विश्वास सधैं कायम रहने सुझाव उनीहरु दिन्छन् ।
केही मतदाताले भने यसपटक निर्वाचित भएर नयाँ अनुहार आए भने प्रतिबद्धता पूरा गर्छन् कि भन्दै शंकाको सुविधा दिन्छन् ।





प्रतिक्रिया दिनुहोस्