प्रेस सेन्टर नेपाल बागलुङद्वारा आइतबार आयोजित पत्रकार भेटघाटमा उनले स्थानीय तह निर्वाचनको सफलता संविधान कार्यान्वयनको आधारशीला रहेको बताउँदै आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि संविधानको व्यावहारिक कार्यान्वयनले गति लिने प्रस्ट पारिन् । ‘ठूलो राजनीतिक उपलब्धिपछि मुलुक नयाँ संविधान हुँदै अघि बढेको छ,’ घर्तीले भनिन्, ‘जनताको ठूलो उत्साह छ, अब देश आर्थिक समृद्धिको युगमा प्रवेश गर्छ ।’
अहिलेका राजनीतिक दलसँग देशको समृद्धि र जनताको सुखबाहेक अर्को कुनै लक्ष्य नरहेको उनको भनाइ छ ।
विभिन्न कालखण्डमा भएका राजनीतिक संघर्षको जगमा प्राप्त उपलब्धिको रक्षा गर्दै देशको मुहार फेर्नतर्फ सबै लाग्नुपर्नेमा घर्तीले जोड दिइन् । नेकपा माओवादी केन्द्रकी नेत्री घर्तीले दलबीच भइरहेको धुव्रीकरण स्वाभाविक भएको बताउँदै विचार मिल्ने दलबीचको एकता प्रक्रिया मुलुककै हितमा हुने र धेरै दल हुँदा राजनीतिक अस्थिरता निम्तिने बताइन् ।
‘वाम एकता र प्रजातान्त्रिक शक्तिबीचको एकता जनताको आकंक्षाअनुसार नै भएको हो,’ उनले भनिन्, ‘यो मुलुकको वस्तुगत अवस्थाको माग पनि हो, यसलाई सबैले स्वाभाविक रुपमा लिनुपर्छ ।’
संविधानले महिलाको अधिकारलाई पनि सुनिश्चित गरेको छ भन्दै थप अधिकारका लागि आफूले सधैं पैरवी गर्ने घर्तीले बताइन् । ‘संविधानले महिलालाई पहिलो पटक अंश र वंशको अधिकार सुनिश्चित गरेको छ,’ घर्तीले भनिन्, ‘यसले समानतामूलक समाज निर्माणमा ठूलो टेवा पुर्याउँछ ।’
महिलालाई आर्थिक, सामाजिक र राजनीतिक रुपमा स्वावलम्बी बनाउनुपर्ने उनको भनाइ छ । (रासस)





प्रतिक्रिया दिनुहोस्