Logo ९ पुस २०८२, बुधबार | Thu Dec 25 2025


अब नेपालमा नाकाबन्दी हुनै सक्दैन : ओली, कम्युनिष्टहरुले ५० वर्ष शासन गर्छन् : दाहाल


0
Shares

संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समिति पर्वतले बिहीबार कुस्माबजारमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै ओलीले वामपन्थीहरुको एकताबाट आत्तिएको नेपाली कांग्रेसले कम्युनिष्टहरु सत्तामा आएपछि अधिनायकवाद आउँछ भनेर भ्रम फैलाएको आरोप पनि लगाए ।

उनले वाम गठबन्धनले निर्वाचन जितेपछि लोकतन्त्र सुदृढ गरिने आश्वासन दिँदै वाम गठबन्धनले मुलुकमा शान्ति, सुशासन, विकास र समृद्धि ल्याउने दाबी गरे ।

‘देशले खोजेको लोकतन्त्र, शान्ति, विकास, सुशासन र समृद्धि सबै वाम गठबन्धनले दिन्छ’–उनले भने ।

कांग्रेसले मुलुकलाई रेमिट्यान्सबाट चलाउन खोजेको आरोप लगाउँदै उनले ४० लाख युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न र राजनीतिक, आर्थिक र सामाजिक स्थायित्वका लागि पनि वाम गठबन्धनको सरकार अत्यावश्यक रहेको जिकिर गरे ।

अर्को प्रसंगमा ओलीले उत्तर र दक्षिणका नाका खोलिएका कारण अब नेपालमा नाकाबन्दी हुनै नसक्ने दाबी पनि गरे ।

वाम गठबन्धनले चुनाव जिते नाकाबन्दी हुन्छ भनेर हौवा फैलाइएको बताउँदै अध्यक्ष ओलीले भने–‘उत्तर–दक्षिणका नाका खोलिएका छन्, कसैले चाहेर पनि नाकाबन्दी हुन सक्दैन ।’

उत्तरतर्फ खोलिएका नाकाहरु पुग्ने मोटरबाटो पक्की बनाएपछि उत्तर–दक्षिणमा सहज व्यापार गर्नसकिने उनको भनाइ थियो ।

ओलीले आफू प्रधानमन्त्री हुँदा मुस्ताङ र तिब्बत जोड्ने कोरल्ला नाका पुग्ने बाटोका लागि ३ अर्ब ६० करोड रुपैयाँ बजेटसमेत विनियोजन गराएको बताउँदै वामपन्थी सरकार बनेका आगामी तीन वर्षभित्र उक्त सडक कालोपत्रे गरिसक्ने आश्वासन पनि दिए ।

मध्यपहाडी लोकमार्ग पूरा भएपछि यस क्षेत्रको आर्थिक र सामाजिक क्षेत्रमा ठूलो परिवर्तन ल्याउने उनले बताए ।

‘पोखरासम्म आउने रेललाई कुस्मा हुँदै बेनी पुर्‍याउनेछौं । यसका लागि केही वर्षमात्रै लाग्छ’–उनले भने ।

अब कम्युनिष्टहरुले ५० वर्ष मुलुकमा शासन गर्छन् : दाहाल
सोही चुनावीसभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताको समृद्धिमा केन्द्रित रहनेगरी एमाले र माओवादी केन्द्रबीच एकता हुन लागेको बताए ।

उनले विभाजित भएर निर्वाचनमा जाँदा कुनैपनि शक्तिको बहुमत नआउने देखिएर गठबन्धन गरिएको स्पस्ट पारे ।

दाहालले कम्युनिष्ट र कांग्रेसको एकता कहिल्यैपनि सम्भव नभएको बताउँदै कम्युनिष्टहरु विभाजित नभइ एकताबद्ध भएर अघि बढ्ने उद्घोष गरे ।

लामो समयदेखि एमाले र माओवादीबीच एकता गर्ने विषयमा छलफल भएपनि सम्भव नभएको बताउँदै दाहालले अहिले दुई दलबीच परिपक्व अवस्था आएकाले तालमेल भएको बताए ।

आसन्न निर्वाचनमा वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याउने निश्चित भएको दाबी गर्दै दाहालले यो नेपाली जनताका लागि ऐतिहासिक अवसर भएको बताए ।

दाहालले नेपाललाई आगामी १० वर्षभित्र संसारकै समृद्ध मुलुक बनाउनका लागि वाम गठबन्धनलाई विजयी गराउन आग्रह गरे ।

कम्युनिष्टहरुको एकता मुलुकको आवश्यकता उनको भनाइ थियो ।

‘अब कम्युनिष्टहरुले ५० वर्ष मुलुकमा शासन गर्छन्, मुलुकमा आमूल परिवर्तन ल्याउँछन्’–उनले भने ।

अध्यक्ष दाहालले आफूले प्रधानमन्त्रीबाट राजीनामा दिँदै शेरबहादुर देउवाका लागि बाटो खोलिदिएको बेला ‘राजनेता’ भन्ने देउवालाई उक्त भनाइ फिर्ता लिन आग्रह गरे ।

आफूले राजनेता भनेको व्यक्तिकाविरुद्ध ‘हलो लिएर उत्रिएको’ भन्दै उनले ‘अब उक्त पदवी दिनुको अर्थ छैन’–भने ।

‘मनैदेखि राजनेता मानेको हो भने मेराविरुद्ध किन उम्मेदवार खडा गरियो’–उनले भने–‘ढिकुरकोजस्तो सानो छाती बनाएर देउवाले देशको नेतृत्व गर्न सक्दैनन् ।’