मानबहादुर वली/ईमेज
सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामध्ये सुर्खेतमा सबैभन्दा बढी आपराधिक घटना हुने गरेको डरलाग्दो तथ्य देखिएको छ ।
प्रदेश राजधानी समेत रहेको सुर्खेतमा आत्महत्यादेखि जघन्य किसिमका आपराधिक गतिविधिमा बढोत्तरी भएको देखिएको हो ।
पछिल्ला तीन वर्षका तथ्यांकले अन्य जिल्लाको तुलनामा सुर्खेतमा दोब्बर बढी अपराध देखाउँछन् कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७२/०७३ यता सुर्खेतमा एक हजार तीन सय ८४ वटा अपराध भएका छन् ।
पछिल्लो तीन वर्षमा कर्णाली प्रदेशका दश जिल्लामा तीन हजार ८ सय ८५ वटा अपराधजन्य घटना भएका हुन् ।
प्रहरीको सक्रियता र बढ्दो शहरीकरणका कारण नै अपराधको तथ्यांक बढेको प्रदेश प्रहरी प्रमुख महेशविक्रम शाहको भनाइ छ ।
यस जिल्लामा सामान्यदेखि जघन्य किसिमका अपराध ठूलै संख्यामा भइरहेका छन् अपराध पनि उल्लेख्य संख्यामा हुने गरेको छ ।
जसमध्ये तीन वर्षमा भएका जवरजस्ती करणीका दुई सय ५३ घटनामध्ये एक सय २५ वटा सुर्खेतकै हुन् ।
आर्थिक वर्ष २०७५ मंसिरसम्म जवरजस्ती करणीका ५९ वटा अपराध भएको प्रहरीको तथ्यांक छ । अर्कोतिर आत्महत्या गर्नेहरुको संख्या पनि यस प्रदेशमा उच्च नै देखिन्छ ।
२०७२ सालदेखि देखि २०७५ सम्म कर्णालीमा आठ सय ८ जनाले आत्महत्या गरेका छन् । जसमध्ये दुई सय ७४ जना सुर्खेतका मात्रै छन् ।
यस्तै कर्तव्य ज्यान सम्बन्धिका एक सय ६०, ज्यान मार्ने उद्योग सम्बन्धिका एक सय ९, भवितव्य ज्यानका पाँच सय ६२ र फुटकर ज्यान सम्बन्धि एक सय ३९ वटा घटना भएका छन् ।
सुर्खेतमा अपराधजन्य घटनाहरु बढी देखिएपछि प्रहरीले सुर्खेतको सुरक्षा व्यवस्था मजबुत बनाउन जिल्लाका ६ वटा प्रमुख नाकाहरूमा सिसीटिभीमार्फत प्रहरीले निगरानी गर्ने भएको छ ।
अपराधसम्बन्धी डरलाग्दो तथ्यांक देखिएकाले सुरक्षा निकायका साथै नागरिकहरु पनि सतर्क र चनाखो बन्नुपर्ने देखिन्छ ।




प्रतिक्रिया दिनुहोस्