Logo ९ पुस २०८२, बुधबार | Thu Dec 25 2025


कम्युनिष्ट गठबन्धन लोकतन्त्रविरोधी : देउवा


0
Shares

कांग्रेस दार्चुलाद्वारा जिल्ला सदरमुकाम खलंगामा शुक्रबार आयोजित चुनावी आमसभामा सभापति देउवाले लोकतन्त्रमा नेपाली जनताले शान्तिको सास फेर्न पाइरहेको तर कम्युनिष्टको एकताले देशलाई अधिनायकवादतर्फ लैजाने खतरा बढेको बताए ।

‘कम्युनिष्टले घुमाइ–फिराइ एकता गरेर जनतालाई धम्काउने, डराउने र त्रासमा राख्ने कोसिस गरिरहेका छन्’–प्रधानमन्त्री देउवाले भने ।

वि.सं. २००७ मा राणाशासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गरेको कांग्रेसले नेपाली जनतालाई यो देशको मालिक बनाएको बताउँदै उनले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नेपालको प्रजातान्त्रिक भविष्यका निम्ति अतिमहत्वपूर्ण खुट्किला भएको स्पस्ट गरे ।

‘दार्चुलाको विकासका लागि कांग्रेस सदैव तयार छ’ भन्दै सभापति देउवाले चुनावलगत्तै व्यास, अपि हिमाल, मार्मा र लेकम गाउँपालिकालाई पिछडिएको क्षेत्रमा राखेर स्थानीय तहलाई सहुलियत दिइने आश्वासन दिए ।

प्रधानमन्त्रीले कन्चनपुरको ब्रहमदेवदेखि दार्चुलाको तिंकरसम्म जोड्ने २९० किमिको महाकाली करिडोरलाई दुई वर्षभित्र पूरा गरिने र भारतसँग सिमानाका जोडिएको जिल्ला सदरमुकाम र जौलजीवीमा पक्कीपुल बनाइने प्रतिबद्धता जनाए ।

सोही सभामा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले जिल्लाका ९ स्थानीय तहमध्ये पाँच तहमा पार्टीले जित हासिल गरेकाले जिल्लामा कांग्रेसको जित सुनिश्चित भइसकेको जिकिर गरे ।

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विक्रमसिंह धामीले जिल्लाको समग्र विकास कांग्रेस जित्दामात्रै हुने बताए ।

यस्तै, प्रदेशसभा क्षेत्र नम्बर–‘क’मा सदस्यका उम्मेदवार मदन गिरीले महाकाली करिडोर पूरा गर्ने आफ्नो मुख्य प्रतिबद्धता रहेको बताए ।

प्रदेशसभा समानुपातिक उम्मेदवार नन्दा बमले लोकतन्त्रको रक्षाका लागि कांग्रेसलाई जिताउन आह्वान गरे । रासस