Logo ९ पुस २०८२, बुधबार | Thu Dec 25 2025


लमजुङमा दिलबहादुर घर्ती र देव गुरुङबीच कडा टक्कर, पृथ्वी सुब्बाले के गर्लान ?(भिडियो)


0
Shares

प्रतिनिधिसभाका एक र प्रदेशसभाका दुई सदस्यका लागि दलहरु आ–आफ्नो पक्षमा मत पार्न मतदाताको घरदैलोमा पुगिरहेका छन् ।

लमजुङमा नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग नेकपा एमाले, माओवादी केन्द्रको कम्युनिष्ट गठबन्धनको सीधा प्रतिस्पर्धा हुन लागेको हो ।

यद्यपी, नयाँ शक्ति नेपाल, संघीय समाजवादी फोरम नेपाल, विवेकशील साझा, जन समाजवादी, देशभक्त गणतन्त्र मोर्चा, आमुल परिवर्तन मसिया पार्टीलगायतले पनि आफ्ना उम्मेदवार उठाएका छन् ।

एक निर्वाचन क्षेत्र रहेको लमजुङबाट प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य देव गुरुङ चुनावी मैदानमा छन् ।

गुरुङलाई छेक्न नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य दिलबहादुर घर्ती मैदानमा उत्रिएका छन् । गुरुङलाई एमालेको साथ छ भने नेता घर्तीलाई राप्रपाले साथ दिएको छ ।

नेता गुरुङ २०६४ को संविधान सभामा मनाङ र कास्की १ बाट निर्वाचित भएका थिए । घर्ती २०६४ को निर्वाचनमा लमजुङ क्षेत्र नं. २ बाट पराजित भएका थिए भने २०७० मा समानुपातिकबाट सभासद् बनेका थिए ।

गुरुङ र घर्ती दुवै आफूले चुनाव जित्ने आधार यस्तो बताउँछन् । आफुलाई वैकल्पिक राजनीतिक धारको रुपमा प्रस्तुत गर्दै आएका नयाँ शक्ति र विवेकशील साझा पार्टीका उम्मेद्वारहरुपनि प्रचारप्रसारमा जुटेका छन् ।

नयाँ शक्तिका प्रतिनिधि सभा सदस्य उम्मेद्वार देवेन्द्र पराजुली राजनीतिक ब्यवस्था परिवर्तन गरिएकाले अब आर्थिक विकास र सम्वृद्धिको ऐजेण्डासहित मतदातामा पुगेको बताउँछन् ।

विवेकशील साझाका प्रतिनिधि सभा उम्मेद्वार निर्देश सिलवाल मतदाताहरुसँग यहाँको विकास र सही प्रतिनिधि चुन्नका लागि आर्शिवाद मागिरहेको बताउँछन् ।

२०७० को निर्वाचनमा काँग्रेस–एमालेको मत बराबर जस्तै थियो, यसमा माओवादीको मत मिसिदा बामगठबन्धन बलियो देखिए पनि प्रतिस्पर्धा कडा हुने मतदाताहरु बताउँछन् ।

उनीहरु जिल्लाको विकास गर्ने उम्मेद्वारहरु चुनिनुपर्ने धारणा राख्छन् ।

प्रदेश सभा ‘क’ मा बाम गठबन्धनबाट एमाले लमजुङका अध्यक्ष धनन्ञ्जय दवाडी र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका उम्मेदवार गर्जबहादुर गुरुङविच प्रतिष्प्रधा हुने छ ।

यस्तै प्रदेश सभामा ‘ख’ नेपाली काँग्रेस लमजुङका पूर्व सभापति कृष्ण कोइराला प्रतिष्पर्धामा छन् । उनीलाई टक्कर दिन एमालेका ‘हेवीवेट’ नेता पृथ्वीसुब्बा गुरुङ प्रतिस्पर्धामा छन् ।

गुरुङलाई प्रदेश नं. ४ को मुख्य मन्त्रीको रुपमा बाम गठबन्धनले मैदानमा उतारेको छ । २०४२ सालमा जनपक्षिय उम्मेदवार बने यता सबै निर्वाचनमा गुरुङ उम्मेदवार बन्दै आएका छन् ।

२०६४ को संविधानसभा निर्वाचित उनी अन्य निर्वाचनमा पराजित रहे । अहिले भने चुनाव जितेर मुख्यमन्त्री बन्न बामगठबन्धनको मत काफी हुने पृथ्वीसुब्बा गुरुङको भनाई छ ।

यसबाहेक नेपाली काँग्रेसबाट असन्तुष्ट रहेकाहरुबाट पनि स्वतन्त्र उम्मेदवारी परेको छ ।

गएको स्थानीय तह निर्वाचनमा करिब तीन हजार मत ल्याउनु भएका द्धारिका मिश्रको प्रतिनिधि सभामा परेको उम्मेदवारीले काँग्रेस उम्मेदवारलाई खतराको घण्टी बजाएको विश्लेषण गरिएको छ ।