Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


चालु आर्थिक वर्षको ३ महिनामा अर्थतन्त्र सकारात्मक : राष्ट्र बैंक


0
Shares

अहिलेसम्म उपलब्ध समष्टिगत आर्थिक तथ्याङ्कले आर्थिक वृद्धिको आशावादी परिदृष्य देखाएको केन्द्रीय बैंकले जनाएको हो । यसका पछाडि कृषि उत्पादनमा बढोत्तरी, उर्जाको सहज आपूर्ति, पर्यटन क्षेत्रमा सुधार र निर्माण कार्यले गति लिएको जस्ता कारणहरु रहेको केन्द्रीय बैंकको तर्क छ ।

साउन–भदौ महिनामा पर्याप्त वर्षा भएकाले कृषि उत्पादनमा बढोत्तरी हुने देखिएको जनाइएको छ । यसैगरी उर्जाको सहज आपूर्ति र चमेलिया लगायतका केही जलविद्युत आयोजनाहरु सम्पन्न हुने क्रममा रहेकाले उद्योगहरुको क्षमता उपयोग बढ्ने देखिएको पनि केन्द्रीय बैंकको भनाइ छ ।

यस्तै, होटलहरुमा बुकिङ्ग तथा अकुपेन्सी दर वृद्धि भएसँगै पर्यटन क्षेत्र लगायत सम्वन्धित सेवा क्षेत्रको विस्तार हुने देखिएको पनि जनाइएको छ । सिमेन्ट तथा फलामे छड लगायतका निर्माण सामग्री आयातमा भएको वृद्धिले निर्माण कार्यले गति लिएको प्रतिबिम्बित भएको राष्ट्र बैंकले जनाएको छ ।

तरकारी तथा फलफूूल जस्ता शीघ्र नाशवान वस्तुहरुको मूल्यमा उतार चढाव हुँदा हुँदै पनि समीक्षा अवधिमा समग्र मुद्रास्फीति ३.१ प्रतिशतमा सीमित रहेको राष्ट्र बैंकले जनाएको छ ।

नेपालको मुद्रास्फीति तल–माथि भइरहने भएता पनि अन्तर्राष्ट्रिय मुद्रास्फीतिकै प्रवृत्तितर्फ उन्मुख रहेको जनाइएको छ । प्रदेश तथा स्थानीय तहमा हुने वित्तीय हस्तान्तरण तथा आसन्न निर्वाचन खर्चका कारण केन्द्रीय सरकारको बजेट दवावमा पर्ने देखिएको जनाइएको छ ।

वैदेशिक अनुदान प्राप्तिमा केही सुधार आएको र राजस्वको वृद्धिदर सामान्य रहेको केन्द्रीय बैंकले जनाएको छ । कर्जा विस्तार गत वर्षको भन्दा स्वस्थ रहनुका साथै वार्षिक लक्ष्यसँग तादात्म्य मिलेको जनाइएको छ । चालू आर्थिक वर्षको पहिलो दुई महिनासम्म लगातार घाटामा रहेको समग्र शोधनान्तर स्थिति बचतमा फर्केको छ ।

विशेषगरी, पुुँजीगत ट्रान्सफर, प्रत्यक्ष वैदेशिक लगानी तथा वैदेशिक ऋण लगायतका पुँजीगत तथा वित्तीय आप्रवाहमा सुधार आएकोले समग्र शोधनान्तर स्थिति बचतमा फर्केको केन्द्रीय बैंकले जनाएको छ ।