मंसिर १० गते हुने निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुले जिल्लामा आफूले पुर्याएको योगदान र आगामी दिनमा गर्ने कामको प्रतिबद्धतासहित मत मागिरहेका छन् ।
प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार क्षेत्र रहेको सिन्धुपाल्चोक ‘हेभिवेट’ उम्मेदवारका कारण चर्चामा रहँदै आएको छ ।
लोकतान्त्रिक गठबन्धनबाट सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ का उम्मेद्वार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणा परिवारमा जन्मिएर पनि २०२९ सालदेखि सिन्धुुपाल्चोकबाट राजनीति गर्दै आएका छन् ।
जिल्लाकै ज्येष्ठ उम्मेद्वार राणाले सिन्धुपाल्चोकको सबै विकास आफ्नै नेतृत्वमा भएकाले अब पनि विकासको लागि आफैंले जित्नुपर्ने बताउँछन् ।
राणासँग प्रतिस्पर्धा गरिरहेका बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेद्वार शेरबहादुर तामाङले पनि जिल्लामा विकास गर्न आफ्नो उम्मेदवारी भएको बताउँदै मत मागिरहेका छन् ।
उनले जिल्लाको विकासको नेतृत्वले युवाले मात्र गर्न सक्ने भन्दै आफूलाई जिताउन अपील गर्दै आएका छन् ।
वृद्धवृद्धालाई पनि आफूप्रति आकर्षित गर्न उनले ज्येष्ठ नागरिक भक्ता मासिक ५ हजार पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसैगरी सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को चुनावी प्रतिस्पर्धामा पनि रोचक छ ।
प्रतिनिधिसभा सदस्यका लागि वहालवाला मन्त्री नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत र पूर्वमन्त्री नेकपा माओवादी केन्द्रका अग्नी सापकोटाबीचको प्रतिस्पर्धा रोचक बन्दै गएको हो ।
उनीहरु दुवैले विकासे एजेन्डालाई प्राथमिकतामा राख्दै चुनावी अभियानलाई तिव्रता दिइरहेका छन् ।
२ लाख २६ हजार ५ सय १५ मतदाता रहेको सिन्धुपाल्चोकको मन कुन उम्मेदवार जित्छन् त्यो हेर्न भने अझै केही दिन कुर्नुपर्ने छ ।
(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस)





प्रतिक्रिया दिनुहोस्