
विभिन्न दलका उम्मेदवारहरु मतदातालाई आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा जुटेका छन् ।
पहिलो चरणमा निर्वाचन हुने क्षेत्रमध्ये नुवाकोट निर्वाचन क्षेत्र नम्बर–२ निकै चर्चामा छ ।
प्रतिनिधिसभा निर्वाचनका लागि वाम गठबन्धन र नेपाली कांग्रेसबाहेक अरु दलले उम्मेदवारी दिएको भएपनि यी दुई दलबीच नै मुख्य प्रतिस्पर्धा देखिएको छ ।
मतदानको समय जति नजिकिँदै छ, त्यति नै नुवाकोट क्षेत्र नम्बर–२ को चुनावी प्रतिस्पर्धा तीव्र र पेचिलो बन्दै गएको छ ।
उम्मेदवारहरु जनताको घरदैलोमा पुगेर आफ्ना एजेन्डा प्रस्तुत् गर्दै मतदातालाई आफूतिर तान्ने कोसिस गरिरहेका छन् ।
यसपटकको चुनावमा अग्निपरीक्षामा रहेका नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले नुवाकोटको समृद्धि र राष्ट्रिय राजनीतिलाई सही बाटोमा डोहोर्याउनु आफ्नो मुख्य एजेन्डा भएको बताए ।
मुलुकका दुई ठूला वाम पार्टीले चुनावी तालमेल गरेपछि हौसिएका क्षेत्र नम्बर–२ का एमाले उम्मेदवार नारायण खतिवडा पनि राजनीतिक स्थायित्व र नुवाकोट जिल्लाको विकास आफ्नो एजेन्डा रहेको बताउँछन् ।
२०२७ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेर चारपटक मन्त्री भइसकेका नेता केसीलाई वाम तालमेलले असहज त बनाएको छ नै ।
तर, नेता केसी आफ्नो सम्बन्ध पार्टीभन्दा माथि भएको र आफूले सम्पूर्ण जीवन नुवाकोटकै विकास लागि समर्पित गरेकाले आफ्नो जितलाई गठबन्धनले कुनै असर नपार्ने जिकिर गर्छन् ।
यता, राष्ट्रिय राजनीतिमा नाम नसुनिएको भएपनि जिल्ला तहमा परिचित खतिवडा भने वाम तालमेल नै आफ्नो जितको आधार भएको दाबी गर्छन् ।
नेता केसीसँग प्रतिस्पर्धामा उत्रिएका नुवाकोट एमालेका अध्यक्षसमेत रहेका खतिवडा २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसकै बहादुरसिंह लामासँग पराजित भएका थिए ।
२०४८, २०५१ र २०७० को निर्वाचनमा विजयी केसीले २०५६ र २०६४ मा भने पराजय भोगेका थिए ।
आफ्नो पार्टीका कार्यकर्तासँगमात्र नभइ अरु दल र स्वतन्त्र व्यक्तिसँगसमेत राम्रो सम्बन्ध राख्ने खुबी भएका कारण केसी व्यक्तिगत सम्बन्धका कारण पनि बलिया उम्मेदवार हुन् ।
केसीसँग प्रतिस्पर्धी एमाले उम्मेदवार खतिवडा जिल्लामा सक्रिय र विवादमा नमुछिएका नेताकारुपमा चिनिन्छन् ।
प्रतिक्रिया दिनुहोस्