५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


भोट हाल्न जाँदा बास बस्नुपर्ने बाध्यता, ‘उम्मेदवार गाउँ आएनन्’


0
Shares

प्रदेश (ख) अन्तर्गत पर्ने धौलागिरि गाउँपालिका–४ को सिम्कोश, बगर र नाउराका बासिन्दा मतदानको अघिल्लो दिनमै छिमेकी गाउँमा बास बस्न जाने गरेका छन् । म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने बगरमा ३४, सिम्कोश र नाउरामा १०/१० घरपरिवार बसोबास गर्छन् ।

त्यहाँका बासिन्दाको मतदान केन्द्र चन्द्रज्योति मावि खिवाङमा तोकिएको छ । मतदानकै दिन हिँडेर पुग्न नसकिने भएकाले अघिल्लो दिनै खिवाङ गएर बास बस्ने गरेको बगरका बासिन्दा चित्रबहादुर तिलिजाले बताए ।

बगर गाउँबाट हिँडेर खिवाङ पुग्न आठ घन्टा लाग्ने गरेको छ । तीन ओटा गाउँमा करिब २०० जना मतदाता छन् । केन्द्र टाढा भएकाले ज्येष्ठ नागरिक र अशक्त मतदान गर्नबाट बन्चित हुने गरेका तिलिजाले बताए ।

विकट भएकाले उम्मेदवारसमेत गाउँमा भोट माग्न पुग्दैनन् । उम्मेदवारलाई नदेखिकन मतदान गर्नुपरेको स्थानीयवासी नरप्रसाद पुनले बताए । स्थानीय तह बाहेकका कुनै पनि संसदीय चुनावमा उम्मेदवार गाउँमा नआएको उनले गुनासो गरे ।

उम्मेदवारको एजेन्डा सुन्न, आफ्ना समस्या व्यक्त गर्ने अवसर नपाएकामा त्यहाँका बासिन्दा दुःखी छन् । एफएम रेडियो सुनेर, टिभीको समाचार हेरेर र गाउँका अगुवाले गर्ने निर्देशनको भरमा मतदान गर्न उनीहरु बाध्य छन् ।

पर्यटन, जडीबुटी र पशुपालनका हिसाबले प्रशस्त सम्भावना भएर पनि भौगोलिक विकटता र पूर्वाधारको विकास नहुँदा बगर गाउँपछि परेको छ । यो गाउँ धौलागिरि हिमाल आरोहणका लागि जाने धौलागिरि चक्रीय पदमार्गको अन्तिम बस्ती हो ।

बस्तीसम्म पुग्ने व्यवस्थित पदमार्ग, सन्चार, खानेपानी, झोलंगे पुल र विद्युत्को समस्या रहेको छ । स्वास्थ्य संस्था टाढा भएकाले आधारभूत उपचार सेवाबाट यहाँका बासिन्दा बन्चित छन् । स्थानीयवासीले आर्थिक संकलन गरेर कक्षा ५ सम्मको पठनपाठन हुने विद्यालय सन्चालन गरेका छन् । रासस