Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


सौराहा घुम्न आचार संहिताः ड्रेसमा आएका विद्यार्थीलाई कोठामा बस्न कडाई


0
Shares

ध्वनि प्रदूषणमा नियन्त्रण, पर्यटनमैत्री वातावरण, वन, वन्यजन्तु र वातावरण संरक्षणलाई केन्द्रमा राखेर व्यवसायीले १६ बुँदे आचारसंहिता जारी गरेका हुन् ।

क्षेत्रीय होटल संघ, क्षेत्रीय रेवान, प्रहरी, नेचर गाईड एशोसिएशन, बाघमारा वन, हात्ती सहकारी र साना पर्यटन व्यवसायी समूहको संयुक्त भेलाले सो निर्णय गरेको संघका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए ।

संयुक्तरुपमा जारी गरिएको विज्ञप्तिमा कुनै मेला महोत्सवबाहेक जाडो समयमा राति ११ बजेसम्म र गर्मी समयमा १२ बजेसम्म होटल रेष्टुराँ सञ्चालन गर्ने उल्लेख छ ।

पर्यटकलाई बीच बाटोमा रोकेर हात्ती, जिप सफारी तथा होटलको कोठा बेच्न नपाउने, पर्यटन क्षेत्रका बाटोघाटोमा गाडी रोक्न नपाउने, पोशाकमा आएका विद्यार्थीका लागि जिम्मेवार अभिभावक नभएसम्म कोठामा बस्न नदिने, स्वीमिङ पुलमा अनिवार्यरुपमा लाइफ ज्याकेट राख्ने, अनुमति बिना ड्रोनको प्रयोग गर्न नदिने गरी आचारसंहिता बनाइएको छ ।

आगामी पुस १ गतेदेखि भने सौराहालाई हर्न निषेध क्षेत्र घोषणा गरिने तयारीसमेत गरिएको क्षेत्रीय रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए ।

चितवनको सौराहामा ११० सुविधायुक्त होटल छन् भने झण्डै ६० वटा रेष्टुराँ रहेका छन् । यहाँ दैनिक दुई हजार ८०० पर्यटक बस्न सक्ने क्षमता छ । रासस