
गत पुस १२ गतेदेखि नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति कास्कीले बिमा दर्ता प्रक्रिया सुरु गरेकोमा मंगलबारसम्म १२ हजार ३०० परिवार बिमामा आवद्ध भएका छन् ।
बिमा दर्ता गरेबापत रु ३ करोड ७० लाख संकलन भएको कार्यालयका प्रबन्धक कृष्णप्रसाद भट्टराईले जानकारी दिए ।
बिमा दर्ता गराएका २५ हजार २०० जनाले सेवा लिएका र सेवा दिएका अस्पताललाई समितिले रु २ करोड ५० लाख भुक्तानी गरिसकेको छ । विसं २०७२ चैत २५ गतेदेखि कैलालीबाट बिमा कार्यक्रम सुरु भएको हो । बीमा दर्ता गरेका सदस्यले कास्कीका १० सेवाप्रदायक स्वास्थ्य संस्थाबाट ५३० प्रकारका सूचीकृत औषधि र २७ प्रकारको विविध उपचार सेवा पाइरहेको भट्टराईले बताए ।
कास्कीका सेवा प्रदायक स्वास्थ्य संस्थामा पश्चिमान्चल क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल, गण्डकी मेडिकल कलेज, हिमालय आँखा अस्पताल, शिशुवा अस्पताल, मातृशिशु मितेरी अस्पताल, अर्मला, भेडावारी, कृस्ती र थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन् ।
जिल्लामा हाल १०७ जना बिमा दर्ता सहयोगी एउटा महानगरपालिका र चार गाउँपालिकामा खटिएका छन् । पाँच जनासम्मको प्रति परिवारले वार्षिक रु दुई हजार ५०० योगदान रकम बुझाउनुपर्नेछ । परिवारमा पाँच जनाभन्दा बढी सदस्य भए प्रति सदस्य रु ४२५ का दरले थप रकम बुझाउनुपर्ने छ ।
सुविधाको थैलीको सीमा पाँचजना परिवारको हकमा वार्षिक रु ५० हजार तथा पाँच जनाभन्दा बढी सदस्य भएमा प्रति थप सदस्यबापत रु १० हजारको सीमा बढ्दै जाने र अधिकतम सीमा रु एक लाखसम्म कायम गरिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्