Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


महिनौं ‘मरेका’ वीरबहादुर बलायर


0
Shares

यो भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरको जीवनको एक वास्तविक घटना हो ।

२०४६ सालको जनआन्दोलन त्यतिबेला उत्कर्षमा थियो । वीरबहादुर बलायरले विद्यार्थीको मोर्चा सम्हालेका थिए ।

नेपाली कांग्रेसले उनलाई थप जनआन्दोलनको केन्द्रीय सुरक्षा समितिको संयोजकको जिम्मेवारी दिएको थियो । त्यसकारण उनले पार्टीका नेताहरुको सुरक्षाको पनि जिम्मेवारी हेर्नुपथ्र्यो ।

जुझारु स्वभावका बलायरको प्रहरीसँग पटक–पटक झडप भइरहन्थ्यो । प्रहरीले उनलाई मुख्य ‘तारो’ बनाएको थियो ।

झडपकाक्रममा उनले प्रहरीबाट धेरैपटक यातना भोगेका थिए । सोही कुरा काठमाडौंमा देख्नेहरुले उनका घर–परिवारलाई सुनाइरहन्थे ।

ओल्केकै दिन मृत्यु भएको कुरा सुन्दा घर–परिवार शोकमा डुब्यो ।

‘उसको स्वाभावले नै हामीलाई डर लागिरहन्थ्यो’–मन्त्री बलायरका दाजु नरबहादुर बलायर भन्छन्–‘त्यो दिन त्यस्तो खबर आयो । उसको उतिबेलाका शासकसँग ठूलै टकराव सुनेका हामीले विश्वास नगर्ने ठाउँ नै थिएन ।’

त्यतिबेला फोनको सुविधा नभएकाले काठमाडौंको खबर तत्काल पुष्टि गर्न सकिने सजिलो आधार थिएन । घर–परिवारले महिनौंसम्म वीरबहादुरको मृत्यु भएको खबरले शोक मनाइरहे ।

आन्दोलन उत्कर्षमा पुग्दा प्रहरीले धरपकड बढाएको थियो । पटक–पटक गोली चलिरहन्थ्यो ।

वीरबहादुर नेतृत्वको मोर्चा न्यूरोडबाट अघि बढिरहेको थियो । त्यसैक्रममा प्रहरीले गोली चलायो । भीडको भागाभाग भयो । वीरबहादुरलाई प्रहरीले जुद्ध शालिकनजिकबाट पक्राउ गर्‍यो । उनलाई पक्राउ गरेको कसैले नदेखेकै कारण मृत्युको हल्ला चलेको थियो ।

त्यसपछि काठमाडौंका तीनओटा जेलहरु हुँदै उनी चौतारा जेलमा पुर्‍याइए । बहुदलको घोषणा भएपछि उनी जेलमुक्त भए ।

जेलमुक्त भएकै दिन एउटा आमसभामा उपस्थित भएको टेलिभिजनमा देखेकाहरुले जीवित भएको खबर घरमा पुर्‍याए । त्यसपछि फेरि घरमा खुसियाली छायो ।

‘लोकतन्त्र ल्याउन संघर्ष गरेको छु’
सोही कुरा निर्वाचन प्रचार–प्रसारकाक्रममा मंगलबार शिखर नगरपालिकाको धुर्कोटमा आयोजित चुनावीसभामा मन्त्री बलायरले दोहोर्‍याए ।

‘घर–परिवारका लागि महिनौंसम्म मरिसकेको म त्यही वीरबहादुर हुँ’–सभामा मन्त्री बलायरले भने–‘संयोगले बाँचेको छु । बाँचेकोमात्र छैन, धेरैलाई बाँच्न सिकाएको छु, बाँच्ने आधार, लोकतन्त्र ल्याउनमा संघर्ष गरेको छु ।’

त्यही संघर्ष र डोटेली समुदायको माया नै आजको दिनमा आफ्नो तागत रहेको उनले बताए ।

‘त्यो संघर्षले वीरबहादुर राष्ट्रमै चिनिएको छ । तपाइँले जिताए अझै अघि बढ्छु’–उनले भने ।

‘मेरो आफ्नो कुनै व्यक्तिगत जीवन छैन । हिजो पनि थिएन र आजपनि छैन र भोलिपनि हुने छैन’–उनले भने–‘हिजो संघर्षमा मरेपनि मरौंला भनेर हिँडे ।’

बलायर आसन्न निर्वाचनमा डोटीबाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । उनका मुख्य प्रतिस्पर्धीकारुपमा निवर्तमान सांसद एवं वाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका प्रेमबहादुर आलेमगर रहेका छन् ।