
सो क्षेत्रमा संयोजक महन्थ ठाकुरसँगै राजपा नेपालकै बागी उम्मेदवार चन्देश्वर झा र नेकपा एमालेका उम्मेदवार विजयकुमार चौधरीले पनि चुनावी अभियान बढाएका छन् । अहिले तीनैजनाले मतदाता फकाउने कामलाई तीव्रता दिएका छन् ।
संयोजक ठाकुरले मधेसलाई अधिकार सम्पन्न, विभेद्बाट मुक्ति, न्यायोचित सम्मान र चौतर्फी विकासका लागि यसपालिको चुनावमा मतदातालाई मधेसको सम्पूर्ण निर्वाचन क्षेत्रमा मधेसी नेतालाई जिताएर सम्पूर्ण मधेसलाई मधेसीमय बनाउन आग्रह गर्दै मतदातालाई आफ्नो पक्षमा मतदान गर्न फकाउँदै छन् ।
उनी मतदातालाई प्रदेश नम्बर–२ मा मधेसी सरकार बनाएर आफ्नो विशेष पहिचान कायम गर्न आग्रह गर्छन् भने आफ्नो स्वाभिमान, सम्मान र अधिकारको रक्षा केवल मधेस सरकारबाट हुने दाबी गर्दै मतदातालाई आफूलाई भोट हाल्न आग्रह गर्छन् ।
राजपा नेपालको समर्थनमा नेपाली कांग्रेसलेसमेत उम्मेदवारी फिर्ता लिएपछि आफू निर्वाचन जित्नेमा संयोजक ठाकुर विश्वस्त देखिएका छन् ।
राजपा नेपालकै बागी उम्मेदवार बनेका चन्देश्वर झा आफू जित्ने दाबी गर्छन् । पूर्वसांसद चन्देश्वर झा आफूलाई ‘यहाँको जनताले विकासका लागि स्वतन्त्ररुपमै उठ्नोस् भनेपछि उठेको’ र तीनै जनताले भोट हालेर जिताउने दाबी गर्छन् ।
त्यस्तै, वाम गठबन्धनबाट एमालेका उम्मेदवार विजयकुमार चौधरी यसअघिको निर्वाचनमा यस क्षेत्रबाट एमालेले नै जितेकाले यसपालि पनि एमाले नै जित्ने दाबी गर्छन् ।
वाम एकतापछि आफ्नो संगठन बलियो भएको र आफू यस क्षेत्रमा सबैभन्दा बढी मतान्तरले विजयी हुने उनको दाबी छ ।
उनी मधेस र मधेसीको अधिकारका लागि संविधान संशोधन जरुरी रहेको र त्यो काम केवल वाम गठबन्धनबाट सम्भव हुने बताउँछन् । रासस
प्रतिक्रिया दिनुहोस्