मंगलबार चितवनको भरतपुरमा आयोजित वाम गठबन्धनको सभालाई सम्बोधन गर्दै ओलीले वामपन्थी एकताले अस्थीर सरकारको चक्रलाई समाप्त गर्ने दाबी गरे ।
देशव्यापीरुपमा उम्मेदवारलाई आक्रमण हुँदा पनि सरकार आँखा चिम्लेर बसेको उनको आरोप थियो ।
कामचलाऊ सरकारले प्रहरी र कर्मचारी सरुवा गर्ने तथा दीर्घकालीन प्रभावका निर्णयहरु गरिरहेको भन्दै उनले त्यसको प्रतिकार गर्ने चेतावनीसमेत दिए ।
अहिलेका कांग्रेस नेताहरुको व्यवहारकै कारण गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता नेताहरुले आफैंले जन्माएको कांग्रेस पार्टी छाड्नुपरेको आरोप पनि उनले लगाए ।
सोही सभालाई सम्बोधन गर्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्टहरुविरुद्ध कांग्रेसले अफवाह फैलाएको आरोप लगाए ।
उनले ‘कम्युनिष्टको सरकार आए देशमा एकदलीय शासन आउँछ’ भनेर कांग्रेसले झुटो प्रचार गर्दै हिँडेको बताए ।
जनतासँग कम्युनिष्टको सम्बन्ध माछा र पानीकोजस्तै भएको उनको भनाइ थियो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालजस्तो नेता पाउनु चितवनवासीका लागि गौरवको विषय भएको नेता नेपालको भनाइ थियो ।
सभामा सहभागी भएपनि पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष एवं चितवन निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दाहालले सम्बोधन गरेनन् ।










प्रतिक्रिया दिनुहोस्