Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


प्रकाशको श्रद्धाञ्जलिसभामा गीत गाएपछि जनवादी गायक पाख्रिनको हृदयाघातबाट निधन


0
Shares

संयुक्त वाम गठबन्धनको आयोजनामा चितवनको भरतपुरमा मंगलबार आयोजित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको श्रद्धाञ्जलिसभामा गीत गाएपछि अस्वस्थ भएका पाख्रिनको अपराह्न उपचारकाक्रममा नारायणी सामुदायिक अस्पतालमा निधन भएको हो ।

चिकित्सककाअनुसार हृदयाघातका कारण उनको निधन भएको हो ।

‘गठबन्धनको कार्यक्रम सुरु हुनु केहीअघि उहाँले एउटा गीत गाउनुभयो, एकैछिनमा टाउको दुख्यो भन्दै निस्कनुभयो’–ज्वाइँ प्रताप गुरुङले भने–‘तत्कालै २ः५५ बजे अस्पताल पुर्‍याइएकामा केही समयपछि नै चिकित्सकले मृत घोषणा गरेको हो ।’

यसअघि, सोही अस्पतालमा पाख्रिनले रक्तचाप र मधुमेहको नियमित उपचार गराउँदै आएका थिए ।

पाख्रिनले नै नारायणी सामुदायिक अस्पतालमा जाने भनेपछि उनलाई दिउँसो प्रहरीको गाडीमा राखेर अस्पताल पुर्‍याइएको थियो ।

मञ्चबाट डोर्‍याएर तल ल्याएर गाडीमा राखेपछि एकपटक वान्ता गरेका पाख्रिनले अस्पतालमा पुगेर पनि एकपटक वान्ता गरेका थिए ।

चितवनको भरतपुर महानगरपालिका–१९ रामपुर घर भएका पाख्रिनको जन्म वि.सं. २००९ मा भएको हो । ६५ वर्षीय पाख्रिनका श्रीमतीसहित एक छोरा र दुई छोरी छन् । एक छोरा भने द्वन्द्वकालमा सहिद भएका थिए ।

उनको शवलाई अहिले आफ्नै निवास रामपुरमा लगिएको छ । पार्थिव शरीरलाई बुधबार बिहान ८ बजे नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय भरतपुरमा श्रद्धाञ्जलिसभाका लागि राखिने माओवादी केन्द्रका जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले जानकारी दिए ।

सभामा माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको भट्टराईले जानकारी दिए । रासस