
कतिपय कलाकार उम्मेदवारको पक्षमा खुलेरै लागेका छन् भने कतिपय भित्रिरुपमा मत माग्न सक्रिय भएका छन् ।
हुन त कलाकारलाई राष्ट्रको पहिचानको रुपमा लिने गरिन्छ । तर एउटा पार्टीको उम्मेदवारको पक्षमा लागेपछि कलाकारको गरिमा भने घट्ने कतिपयको विश्लेषण छ ।
कलाकारलाई राष्ट्रको पहिचान मानिन्छ । कुनै पनि कलाकार कुनै पार्टी वा उम्मेदवारको पक्ष÷विपक्षमा हुँदैनन् भन्ने मान्यतासमेत रहँदै आएको छ ।
तर नेपालका चर्चित कलाकारहरु नै कुनै न कुनै पार्टीको पक्ष र विपक्षमा लागेको पाइन्छ । अझ निर्वाचनका बेला त राष्ट्रियस्तरका कलाकार नै कुनै उम्मेदवारको पक्षमा मत माग्दै गरेको समेत देखिने गरेको छ ।
पहिलो चरणअन्तर्गत मंसीर १० गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन हुने सिन्धुपाल्चोकमा पनि कलाकार मार्फत उम्मेद्वारहरुले मत मागिरहेका छन् ।
नेपाली चलचित्र जगतकी चर्चित नायीका रेखा थापा सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा क्षेत्र नंं. २ का लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार पशुपतिशमशेर जबराको पक्षमा भोट माग्दै जिल्लाका विभिन्न स्थानमा पुगेकी छन् ।
रेखा थापा मात्र होइन, अन्य राजनीतिक दलका उम्मेदवारले पनि कलाकारलाई प्रयोग गर्ने गरेका छन् ।
पार्टीका चुनावी सभाहरुमा प्रचलित गीत तथा पार्टीकै चुनावी गीतमा समेत कलाकारहरुलाई नचाइने गरिएको छ भने उम्मेद्वार पनि कलाकारसँगै नाच्ने गरेका छन् ।
गीत संगीत प्रस्तुत गर्दा मानिसहरुलाई आकर्षित गर्न सकिने र सोही मौका छोपी मतदातालाई आफ्ना विचारहरु प्रस्तुत गर्न पाइने भएकाले पनि चुनावी सभाहरुमा कलाकारको प्रयोग बढ्दै गएको हो ।
कलाकारको अधिकतम प्रयोग गर्नेमा भने बाम गठबन्धन नै अगाडि देखिएको छ । उसले कलाकारको टोली नै तयार पारेर विशेष व्यवस्थासहित चुनावी अभियानमा सहभागी गराउँदै आएको छ ।
चुनावी माहोल आफ्नो पक्षमा पार्न राजनीतिक दल र उम्मेदवारले कलाकारलाई प्रयोग गर्न हुने या नहुने भन्नेमा मत बाझिएको पाइन्छ ।
कतिपयले यसलाई सामान्य रुपमा लिएका छन् भने कतिपयले कलाकार पार्टी विशेषभन्दा माथि उठेर समग्र देशको हुनुपर्ने बताउँदै आएका छन् ।
(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस)
प्रतिक्रिया दिनुहोस्