५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024


यस्ता थिए, जनवादी गायक पाख्रिन


0
Shares

युवाहरु हो देश तिम्रै हो, भविष्य तिम्रै हो,
नयाँ नेपाल बनाउने अभिभारा तिम्रै हो ।

करिब दिउँसोको २ बज्न लाग्दै थियो । गीत–संगीतको तालमा शरीर हल्लाउँदै गीत गाउँदै थिए, जनवादी गायक ६५ वर्षीय पाख्रिन । गीतसंगीतको तालमा देखिएको उनको प्रस्तुतिमा युवाजोश भरिएको थियो ।

वृद्ध भएपनि तन्नेरीझैं हातको हाउ–भाउमा गीत पस्कँदा दर्शक बनेर आएका नेकपा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ता पनि उत्साहित देखिन्थे ।

मंगलबार भरतपुरको केन्द्रीय बस टर्मिनलको खालीचौरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको श्रद्धाञ्जलिसभा राखिएको थियो ।

मध्याह्न १२ बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाल आउने कार्यक्रम केही ढिला भएपछि उनले मञ्च पाएका थिए । खाली समयको सदुपयोग गर्दै थिए, पाख्रिन ।

हजारौंको बलिदानले कालोयुग ढलेको छ,
सिर्जना र समृद्धिको बाटो खुल्न थालेको छ ।

केहीबेर मच्चिएरै गीत गाए, उनले । फुर्तिलो देखिएका पाख्रिनका शरीरमा कुनै बिमारको छनक थिएन ।

युवा तिम्रो काँधमा आयो देश बचाउने अभिभारा,
छाती खोली अघि बढ्ने अब तिम्ले हिम्मत गर ।

केहीबेरको प्रस्तुति सकेपछि औपचारिक कार्यक्रममा आशनग्रहण गरेलगत्तै उनी अस्वस्थ भएका थिए ।

‘एक्कैछिनमा टाउको दुख्यो भन्दै निस्कनुभयो, तत्कालै २ः५५ बजे अस्पताल पुर्‍याइएकामा केही समयपछि नै चिकित्सकले मृत घोषणा गरे’–ज्वाइँ प्रताप गुरुङले घटनाबारे जानकारी दिए ।

नारायणी सामुदायिक अस्पतालकाअनुसार माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार तथा जनवादी गायक पाख्रिनको हृदयाघात भइ मृत्यु भएको हो ।

त्यति जोशका साथ गीत गाइरहेका पाख्रिनको एकैछिनमा मृत्युको खबर आउँदा शुभचिन्तकहरु स्तब्ध भए ।

एकजना शुभचिन्तक मानबहादुर स्याङबोले भने–‘पत्याउनै नसकिने घटना भयो । हुन त केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाशको पनि यसैगरी अप्रत्याशितरुपमा मृत्यु भएको थियो ।’

उनकै श्रद्धाञ्जलिसभाकाक्रममा गीत गाएका पाख्रिन एक्कासि निधनको खबरले शुभेच्छुकहरु स्तब्ध हुनु स्वाभाविकै हो ।

बुधबार ओली र दाहालले भरतपुरमा पाख्रिनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि दिए ।

कहिल्यै मिडिया नखोज्ने गायक पाख्रिन
वि.सं. २००९ कात्तिक ९ गते गोरखाको खरिबोटमा जन्मिएका पाख्रिन प्रगतिशील र सांस्कृतिक अभियानका अगुवा थिए ।

झन्डै ५०० गीत रहेका उनका करिब २०० गीत प्रकाशित र संगीतबद्ध नै भएको अनुमान गर्छन्, गायक हरि योञ्जन ।

उनकाअनुसार सुरुआती कालदेखि नै गीत–संगीतमा रुचि राख्ने पाख्रिन २०३५ सालदेखि औपचारिक गीत–संगीतमा लागे । अहिलेसम्म कुनै मिडिया खोजेर उनले प्रचार गरेनन् ।

जनताकै घरदैलोमा रमाउने र जनताकै सुख–दुःख र मुक्ति आन्दोलन तथा परिवर्तनको क्षेत्रमा उनको योगदान छ ।

वि.सं. २०३८ मा उनले ‘सगरमाथाको काखबाट’ भन्ने प्रगतिवादी गीत औपचारिकरुपमै ल्याए ।

‘गैती बेल्चा उचालेर, पहरालाई छिचोलेर’ भन्ने गीत उनको निकै चर्चित भएको अनुभव सुनाउँछन्, गायक योञ्जन । योञ्जनले धेरै गीत उनीसँग गाएका छन् ।

योञ्जन जनवादी संस्कृतिक मोर्चामै छँदा पाख्रिन पूर्णकालीन प्रगतिशील सांगीतिक क्षेत्रमा लागेका थिए ।

कालो वनको बीचैमा खेतालाको गाउँ,
सानासाना झुपडी, छैन आमाबाबु ।

मजदुरको वास्तविक अवस्थालाई शब्दमा उतारेर उनले सांस्कृतिक आन्दोलन नै अघि बढाए । त्योमात्रै होइन, पाख्रिनको महिला अधिकार र मुक्तिको अभियानमासमेत उत्तिकै योगदान रहेको योञ्जन बताउँछन् ।

हाम्री चेली विरानो गाउँमा,
नौ डाँडा पारि,
सम्झेर आमालाई रुन्छिन् धरधरी ।

महिलाकेन्द्रित यो गीतले त्यो समयमा चर्चा पाएको थियो । उनको गीतमा क्रान्ति, साहस र मुक्तिका कुरा छन् । सुरुमा वेदना सांस्कृतिक समूहमा रहेका उनी जनवादी सांस्कृतिक हस्ती थिए ।

सामना सांस्कृतिक परिवारका संस्थापक पाख्रिनका गीत अहिले पनि जीवन्त रहेको शुभचिन्तक संगीता भट्टराई बताउँछिन् ।

अर्का गायक चेतन सापकोटा पाख्रिन जनवादी गीत–संगीतका ‘भीष्मपितामह’ रहेको बताउँछन् ।

‘मिडिया कहिल्यै खोज्नु भएन, खाली जनताका लागिमात्रै गाउने गर्नुहुन्थ्यो’–सापकोटाले भने–‘बिनामिडिया टोलटोलमा जागरण ल्याउने जनताले बनाएको गायक हुनुहुन्थ्यो पाख्रिन ।’

उनकाअनुसार जनताकै आँगनमा सिक्ने र सिकाउने भएकाले अरू कतिपय गायक मिडिया प्रचारबाट गायक बने पनि उनी जनताको आँगनबाट बनेका गायक थिए ।