स्व. पाख्रिनको पार्थिव शरीरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका नेता रामबहादुर थापालगायतका शीर्ष नेताहरुले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
वाम गठबन्धनको मंगलबार भरतपुरमा आयोजित संयुक्त जनसभा एवं स्व. प्रकाश दाहालको शोकसभामा गीत गाउँदा–गाउँदै अचेत भइ उपचारकाक्रममा हृदयाघातका कारण पाख्रिनको निधन भएको थियो ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले शोक वक्तव्य जारी गर्दै उनको निधनबाट पार्टी र देशलाई अपूरणीय क्षति भएको जनाएका छन् ।
वक्तव्यमा पार्टीका केन्द्रीय सल्लाहकार, नेपाली प्रगतिवादी साहित्यिक एवं सांस्कृतिक आन्दोलनका धरोहर जनताका प्रिय गायक पाख्रिनको निधनले पार्टी स्तब्ध भएको जनाइएको छ ।
वक्तव्यमा भनिएको छ–‘शोकको यस दुःखद् क्षणमा हाम्रो पार्टी क. खुसीराम पाख्रिनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, शुभेच्छुक एवं सहयोद्धामा गहिरो समवेदना व्यक्त गर्दछ ।’
वक्तव्यमा त्याग र निष्ठाका विम्ब, जनताका प्रिय नेता एवं गायक पाख्रिनको निधनले पार्टी, नेपालको कम्युनिष्ट आन्दोलन र प्रगतिशील साहित्यिक, सांस्कृतिक आन्दोलनमा अपूरणीय क्षति पुगेको जनाइएको छ ।
उनले देखाएको मार्गमा अविचलितरुपमा पार्टी अघि बढ्ने पनि वक्तव्यमा जनाइएको छ ।
वि.सं. २००९ साल कात्तिक ९ गते गोर्खाको खरिबोटमा जन्मिएका पाख्रिनका एक श्रीमती, एक छोरा र दुई छोरी छन् ।
उनका अर्का एक छोरा अमर पाख्रिन सशस्त्र द्वन्द्वकाक्रममा २०६१ चैत ३ गते लम्जुङमा मारिएका थिए ।
वि.सं. २०३८ मा ‘सगरमाथाको काख’बाट भन्ने प्रगतिशील गीतबाट सांगीतिक यात्रा सुरु गरेका पाख्रिनका ५०० भन्दा बढी प्रगतिशील रचना प्रकाशित छन् ।
पाख्रिनको पार्थिव शरीरलाई तामाङ संस्कृतिअनुसार बुधबारै अन्त्येष्टि गरिँदैछ ।
भरतपुर महानगरपालिकाको नारायणी नदी किनारमा रहेको ज्ञानेश्वर सामुदायिक वनमा उनको अन्त्येष्टि गरिँदैछ ।
उनको हालको निवास भरतपुर महानगरपालिका–१९ रामपुरमा रहेको छ । निधनपछि मंगलबार घर लगिएको पाख्रिनको शवलाई बुधबार बिहान श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय ल्याइएको थियो । रासस









प्रतिक्रिया दिनुहोस्