महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा बिहीबार ‘राजपा नेपाल आम निर्वाचन, २०७४ घोषणापत्र सार्वजनिकीकरण कार्यक्रम’मा सदस्य महतोले राजपा नेपालले आन्दोलन चलिरहेकैबेला घोषणा गरेको मधेस आन्दोलनका सहिद परिवारलाई रु ५० लाख दिने कुरा फेरि दोहोर्याएका हुन् ।
नेता महतोले मधेस आन्दोलनमा सहादतप्राप्त गरेकाहरुका प्रत्येक परिवारलाई रु ५०/५० लाख क्षतिपूर्ति दिनाका साथै परिवारका आश्रित बालबालिकालाई निःशुल्क उच्चशिक्षा र प्रत्येक परिवारबाट एक/एकजनालाई मधेस सरकारले रोजगारी दिने प्रतिबद्धता पुनः प्रकट गरेका हुन् ।
धनुषा जिल्लाको क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारसमेत रहेका नेता महतोले मधेसमा मधेस सरकार बनाउन र मधेसी सहिदको सपना साकार गर्न आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा राजपा नेपाललाई बहुमतका साथ जिताउन सबैसँग अपिल गरे ।
विभेद अन्त्य र संविधान संशोधनका लागि राजपालाई भोट
कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले विभेद अन्त्य र संविधान संशोधनका लागि राष्ट्रिय जनता पार्टी नेपाललाई भोट हाल्न सबै मतदातालाई आग्रह गरे ।
आफ्नो पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्दै महोत्तरी जिल्लाको क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारसमेत रहेका संयोजक ठाकुरले मधेसी, थारु, आदिवासी, जनजाति, महिला, मुस्लिम, पिछडिएको तथा अन्य पीडित वर्गको समुदायलाई अधिकार सम्पन्न बनाउन संविधान संशोधन अपरिहार्य रहेको बताए ।
संविधान संशोधन भएपछि विभेदको अन्त्य हुने भएकाले राजपालाई संविधान संशोधन गर्न योग्य बनाउन आसन्न निर्वाचनमा बहुमतका साथ जिताउन आग्रह गरे ।
नेता ठाकुरले देशमा विभेदको अन्त्य र संविधान संशोधन नभएसम्म आफूहरुको आन्दोलन जारी रहने बताए ।
राजपाले सार्वजनिक गरेको घोषणापत्रमा बाढी–पहिरोको स्थायी समाधान, हुलाकीमार्ग, थप सडक सञ्जाल र रेलसेवाको विस्तार, काठमाडौं–निजगढ द्रुतमार्ग र निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, जनकपुर अन्तर्राष्ट्रिय पर्यटनस्थल एवं विश्वहिन्दू केन्द्र, वीरगन्ज नेपालको आर्थिक कारोबार र व्यापारको प्रमुख केन्द्र, विराटनगर, भैरहवा र नेपालगन्ज नेपालको आर्थिक विकासको मेरुदन्ड, लुम्बिनी अन्तर्राष्ट्रिय बुद्धिष्ट केन्द्र, सूचना–प्रविधि र इन्टरनेट सेवाको विस्तार, युवामैत्री कार्यक्रम, महिलामैत्री कार्यक्रम, किसानमैत्री कार्यक्रम, गरिबमैत्री कार्यक्रम, वैदेशिक लगानी आकर्षण र निजी क्षेत्रलाई प्रोत्साहन, सहिदस्तम्भ एवं स्मारक निर्माण र हरेक क्षेत्र विशेष क्षेत्रलगायतका १५ बुँदा उल्लेख गरिएको छ । रासस









प्रतिक्रिया दिनुहोस्