कुमार चौलागाइँ (रासस)
काठमाडौं, पुस १२ । मनाङ–मर्स्याङ्दी क्लबले दुई खेलअगावै राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जित्न सफल भएको छ ।
बिहीबार एन्फा मैदान सातदोबाटोमा भएको ११औं चरणको खेलमा संकटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै मनाङ आठौंपटक लिग च्याम्पियन बनेको हो ।
पाँच वर्षपछि फर्किएको घरेलु लिगको उपाधि उचाल्न उसलाई मात्र एक जित आवश्यक थियो ।
मनाङलाई जित दिलाउन विशाल राई, पुजन उपरकोटी र एडिलाजा सोमिडेले एक/एक गोल गरे । संकटाका सेड्रिक अबाले एक गोल फर्काए ।
पहिलो हाफको इन्जुरी समयमा विशाल राईको गोलमार्फत् मनाङले अग्रता बनाएको थियो ।
त्यस्तै, ८७औं मिनेटमा विशालकै क्रसमा एडिलाजाले गोल गर्दै मनाङको अग्रता दोब्बर बनाएका थिए ।
खेल सकिन ८ मिनेट बाँकी रहँदा पुजन उपरकोटीले गोल गर्दै मनाङको जित सुनिश्चित गरे ।
खेलको ८९औं मिनेटमा संकटाका लागि सेड्रिक अबाले सान्त्वना गोल फर्काएका थिए ।
लिग उपाधिसँगै मनाङले रु ५० लाख पक्का गरेको छ ।
मनाङले यसअघि २०४२/२०४३, २०४३/२०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० गरी सातपटक उपाधि जितिसकेको छ ।
मनाङले खेलेका सबै ११ खेल जित्दै ३३ अंकका साथ लिग जितेको हो । दोस्रो स्थानको संकटाको ११ खेलबाट २५ अङक छ । अब बाँकी रहेका दुवै खेल हारेपनि मनाङ च्याम्पियन बन्नेछ ।
जारी लिगमा मनाङले पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबविरुद्ध ३–१, दोस्रोमा एनआरटीविरुद्ध २–०, तेस्रोमा थ्रीस्टारविरुद्ध २–१, चौथोमा एपीएफविरुद्ध २–१, पाँचौंमा सरस्वती युथविरुद्ध २–०, छैटौंमा जावलाखेल युथविरुद्ध १–०, सातौंमा मच्छिन्द्रविरुद्ध १–०, आठौंमा त्रिभुवन आर्मीविरुद्ध १–०, नवौंमा च्यासल युथविरुद्ध ३–१, दशौं चरणमा नेपाल पुलिसविरुद्ध १–० र एघारौं चरणमा संकटाविरुद्ध ३–१ को जित निकाल्दै उपाधिमाथि कब्जा जमाएको हो ।
मनाङले अब १२औं चरणमा हिमालयन शेर्पा तथा अन्तिम चरणमा फ्रेन्ड्स क्लबविरुद्ध खेल्नेछ ।
मनाङले उपाधि जितेसँगै जारी लिगमा उसका लागि फरवार्ड ओलावाले आफिजले ६ तथा अन्जन विष्टले ५ गोल गरेका छन् । मनाङले ११ खेलमा ५ गोल खाँदा २१ गोल गरेको छ ।








प्रतिक्रिया दिनुहोस्