साँझको समयमा सूर्यास्त हेर्दै रमाउन पर्यटक जमघट हुने सौराहाको राप्ती किनार गएको साउन २८ गतेको बाढीले बगर बनाएको थियो ।
करिब तीन महिनाको प्रयासमा बगर सुन्दर पर्यटकीय नगरीको पुरानै स्वरुपमा फर्किएको बताउँछन् रेस्टुरेन्ट एन्ड बार एशोसिएशन नेपाल (क्षेत्रीय रेवान)का अध्यक्ष गोकर्ण गिरी । अहिले नदी पब तथा रेष्टुरेन्टहरु सबै नयाँ बनेका छन् ।
पर्यटक बस्ने र रमाउने किनार सजिएको छ । राप्तीको ड्यामबाट हेर्दा आकर्षक बनेको छ भने तस्वीर र सेल्फीमा पर्यटक रमाउने गरेका छन् । बगर बनेका झन्डै एक दर्जन रेस्टुरेन्टमा करोडौंको लगानी गरिएको रेवान सौराहाले जनाएको छ ।
गत साउन २८ गते राति आएको बाढीले समग्र सौराहालाई नै प्रभावित बनाएको थियो । त्यसमध्ये कतिपय होटलले एक सातादेखि नै सेवा सुरु गरेका थिए तर, राप्ती किनार भने बगर बनेकाले पुरानै स्वरुपमा ल्याउन समय लागेको हो ।
‘पर्यटकका लागि सबै सेवा सुरु भइसकेको छ’, सौराहाबीच रेस्टुरेन्टका सन्चालक बलराम दाहालले भने, ‘रेस्टुरेन्ट पुरानै स्वरुपमा ल्याउन झन्डै रु ५३ लाख खर्चनुप¥यो ।’ उनका अनुसार किनारका पर्यटकीय क्षेत्रको पुनः निर्माणका लागि झन्डै रु तीन करोड खर्चनु परेको छ ।
सौराहामा बढी पर्यटकीय चहलपहल हुने राप्ती किनार हो । साँझ यहाँ आएर पर्यटकले किनारको मजा लिने र रमाइलो गर्ने, सूर्यास्तको मजा लिँदै चिसो हावामा रमाउँछन् । मीठा परिकारसहित जमघटमा रमाउनु यहाँको विशेषता हो ।

नदीपारि चितवन निकुञ्ज भएकाले बेलाबेलामा जंगली जनावर पानी खान राप्ती आउँदा सहजै देख्न सकिन्छ । गैँडा, चित्तल, गोही दैनिक देखिन्छ । राप्ती किनार सौराहाको गहनाका रुपमा रहेको पर्यटन व्यवसायी जीतु तामाङ बताउँछन् । त्यसैले हरेक होटलमा बस्ने पर्यटकको साँझको रोजाइ राप्ती किनार हुन्छ ।
पर्यटक आउने भएकाले व्यवसायीले पनि किनारलाई सजिसजाउ र झकिझकाउ बनाएर आकर्षक पार्ने गरेका छन् । बाढीले सौराहा बिच रेस्टुरेन्ट, राप्ती बिच रेस्टुरेन्ट, सन्सेट भ्यू रेस्टुरेन्ट, राप्ती रेस्टुरेन्ट, सेन्ट्रल बिच, टपटेन रेस्टुरेन्ट, टिफिन हाउस रेस्टुरेन्ट र रिभर बिच रेस्टुरेण्टलाई बगर बनाएको छ ।
रत्ननगर नगरपालिका–६ का वडाध्यक्षसमेत रहेका पर्यटन व्यवसायी बलराम दाहाल विभिन्न क्षेत्रका बाँध नाघेर बाढी आउँदा पर्यटकको मौसममा हेर्दाहेर्दा पवहरु बगर हुँदा करोडौँको घाटा भएको बताउँछन् ।
बाढीले होटलमा करिब रु १५ करोडको क्षति भएको क्षेत्रीय होटल संघ चितवनका महासचिव राममणि खनाल बताउँछन् । रेस्टुरेन्ट व्यवसायको मात्रै रु ५ करोड ४१ लाखको क्षति भएको बताउँछन् क्षेत्रीय रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरी । जसमा ४३ ओटा रेस्टुरेन्ट छन् । यहाँ करिब ६० रेस्टुरेन्ट र ११० होटल सन्चालनमा छन् ।
दैनिक २८०० पर्यटक बस्न सक्ने क्षमता सौराहामा छ । हात्ती, सफारी, जिप सफारी, डुंगा सफारी गर्ने, अनि चितवन निकुञ्जका गैँडा, बाघलगायत वन्यजन्तु अवलोकनका लागि पर्यटक लालायित हुने पर्यटन व्यवसायी शिरलाल परियारको भनाइ छ । रासस









प्रतिक्रिया दिनुहोस्