काठमाडौं, पुस १२ । सहिद स्मारक ‘ए’ डिजिभन लिग फुटबल प्रतियोगिताअन्तर्गत् बिहीबार भएको पहिलो खेलमा च्यासल युथ क्लब र विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)ले बराबरी खेल्दै अंक बाँडेका छन् ।
ललितपुको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को टेक्निकल सेन्टरमा भएको खेलमा च्यासल युथ क्लब र एपीएफले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
खेलमा पहिलो अग्रता भने च्यासलले लियो । खेलको पहिलो हाफको ३१औं मिनेटमा च्यासलका खेलाडी सन्तबहादुर गुरुङले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए ।
च्यासलका विश्व अधिकारीले प्रहार गरेको बल एपीएफका सन्तोषकुमार कटवालले गोल लाइनबाट ‘क्लियर’ गरेका थिए । सोही ‘रिबाउन्ड’ बललाई सदुपयोग गर्दै सन्तले गोल गरेका हुन् ।
त्यस्तै, खेलको ४१औं मिनेटमा पाएको पेनाल्टीलाई एपीएफका खेलाडी सुदीप शिख्राकारले सदुपयोग गर्न सकेनन् । उनले प्रहार गरेको बललाई च्यासलका गोलरक्षक दिनेश थापाले विफल पारे ।
एपीएफका हरि कार्कीलाई च्यासलका देवेन्द्र तामाङले फल गरेपछि एपीएफले पेनाल्टी पाएको थियो ।
खेलको पहिलो हाफसम्म १–० को अग्रता कायम गरेको च्यासलले दोस्रो हाफमा एक गोल खायो ।
एपीएफका खेलाडी श्यामकुमार नेपालीले खेलको ५४औं मिनेटमा एक गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
खेलको ७७औं मिनेटदेखि च्यासल १० खेलाडीमा सीमित बनेको थियो । च्यासलका गौरव बुढाथोकीले दुईओटा पहेंलो कार्डसहित रातोकार्ड पाएपछि च्यासल १० खेलाडीमा सीमित बनेको हो ।
खेलमा ‘म्यान अफ दी म्याच’ एपीएफका श्यामकुमार नेपाली घोषित भए ।
यस खेलसँगै ११ खेल खेलेको एपीएफले १७ अंक जोडेको छ भने समान खेल खेलेको च्यासलको १५ अंक भएको छ । रासस








प्रतिक्रिया दिनुहोस्