व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा बस्दै आएका ८१ वर्षीय मीनबहादुर बस्यालको शव आश्रमकै महिलाहरुले बोकेर शुक्रबार बिहान अन्त्येष्टिका लागि घाटसम्म पुर्याएका हुन् । बस्यालको बिहीबार राति मृत्यु भएको हो ।
वि.सं. २०६८ देखि उक्त आश्रम महिलाकोमात्रै सक्रियतामा सन्चालन हुँदै आएको भएपनि २०७० सालदेखि विधिवतरुपमा दर्ता गरी सन्चालनमा ल्याइएको हो ।
अविवाहित बस्याल उक्त आश्रममा विगत पाँच वर्षदेखि बस्दै आएका थिए । उनका आफन्तहरु कोहीपनि नभएको बताइएको छ ।
हाल उक्त ज्येष्ठ नागरिक आश्रममा चार महिला र तीन पुरुष गरी सातजना बस्दै आएका छन् ।
समाजमा महिलाले केही पनि गर्न सक्दैनन् भन्ने परम्परालाई तोड्नका लागि महिलाले नै शव बोक्ने गरेको आश्रमकी कार्यबाहक अध्यक्ष शकुन्तला आलेले बताइन् ।
‘ज्येष्ठ नागरिकलाई पालनपोषण गरिसकेपछि उनीहरुको मृत्युपश्चात् हामीले नै दाहसंस्कार गर्नुपर्छ भन्ने उद्देश्यले महिलाले शव बोक्नुपरेको’ उनले जानकारी दिइन् ।
‘मन्त्र जप्ने ओठभन्दा सेवा गर्ने हात पवित्र हुन्छ’ भन्ने मूलमन्त्रका साथ महिलाले सहजरुपमा शव बोकेर घाटसम्म पुर्याएको आश्रमकी सचिव निर्मला मल्लले बताइन् ।
‘पितृसत्तात्मक सोचलाई अन्त्य गर्नका लागि र महिलाले पनि समाजमा केही गर्न सक्छन् भन्ने शिक्षा दिनका लागि महिलाले शव बोक्ने साहस गरेका हुन्’–सचिव मल्लले भनिन् ।
समाजमा रहेको कुरीतिको अन्त्यका लागि महिलाले देखाएको साहसपूर्ण कार्य एउटा उदाहरणीय रहेको घाटमा पुगेका दमौलीका व्यवसायी रामकुमार श्रेष्ठले बताए ।
‘छोरा नभएपनि छोरीले पनि कर्तव्य पालना गर्न सक्छन् भन्ने सन्देशमूलक कार्य तनहुँका महिलाले गरेका छन्’–श्रेष्ठले भने ।
आश्रम सन्चालक महिलाले २०७२ साल मंसिर १२ देखि १८ गतेसम्म ज्येष्ठ नागरिक आश्रम निर्माणका लागि महायज्ञको आयोजना गरी रु एक करोड ४० लाख संकलन गरेकामा रु एक करोड १५ लाख खर्चेर घरसहितको करिब दुई रोपनी जग्गा आश्रमको नाउँमा किनिसकेका छन् ।
सुरुमा १५ जना महिलाद्वारा सन्चालित उक्त आश्रममा हाल ३२० महिला आबद्ध रहेको आश्रमकी कोषाध्यक्ष करुण श्रेष्ठले बताइन् ।
‘सुरुमा घर भाडा लिएर आश्रम सन्चालन गर्दा कठिनाइ भोग्नुपरेको थियो’–श्रेष्ठले भनिन्–‘तर अहिले आफ्नै घर र जग्गा हुँदा आश्रम सन्चालनमा सहज भएको छ ।’
ज्येष्ठ नागरिक बस्यालको निधनपछि आश्रममा आबद्ध सबै महिलाले एकछाक खाना छाड्ने बताएका छन् । रासस


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्