Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


हिंसामा नउत्रन कांग्रेसको आग्रह


0
Shares

लोकतन्त्रमा शान्तिपूर्ण एवं निर्वाधरुपमा आफ्ना चुनावी कार्यक्रम गर्न पाउने अधिकारमाथि गठबन्धनमा आबद्ध नेता तथा कार्यकर्ताले विभिन्न जिल्लामा कांग्रेसका कार्यकर्तामाथि सांघातिक आक्रमण गरेको जनाउँदै यस्तो क्रियाकलाप नदोहर्‍याउन कांग्रेसले माग गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलद्वारा शनिबार जारी विज्ञप्तिमा नेपाली कांग्रेसका कार्यकर्तामाथि सांघातिक आक्रमण गर्नेलाई कानुनको दायरामा ल्याउन र घाइतेको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरिएको छ ।

शनिबार बिहान नवलपुर जिल्ला प्रतिनिधिसभा क्षेत्र नम्बर–२ को प्रदेशसभा क्षेत्र नम्बर–१ का कांग्रेस उम्मेदवार विष्णु लामिछाने चढेको सवारी–साधनलाई लक्षित गरी हुप्सकोट गाउँपालिका वडा नम्बर–५ गोजापोखरीनजिक कम्युनिस्ट गठबन्धनका कार्यकर्ताले बम प्रहार गरेको विज्ञप्तिमा जनाइएको छ ।

साथै, ओखलढुंगा, चिसंखुगढी गाउँपालिका वडा नम्बर–३ का कांग्रेस चुनाव प्रचार–प्रसार समितिका संयोजक राजकुमार ढुंगानालगायत अन्यलाई शुक्रबार राति कम्युनिस्ट गठबन्धनका कार्यकर्ताले सांघातिक आक्रमण गरेका विज्ञप्तिमा उल्लेख छ । रासस