१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


आपराधिक घटना नियन्त्रण गर्न इम्बोस्ड नम्बर प्लेट सहयोगी हुने


0
Shares

गत भदौ ५ गते यातायात व्यवस्था विभागले १४ अञ्चल संरचनानुसार सुरु गरेको सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट नेपालको संविधानअनुसार प्रदेश संरचनानुसार वितरण गर्न व्यवस्थापिका–संसद्का विभिन्न समितिले निर्देशन दिएको थियो ।

प्रदेश संरचनानुसार इम्बोस्ड नम्बर प्लेट वितरणका लागि गत कात्तिक १३ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरेको थियो । सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ अनुसार पाँच वर्षभित्र २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्ने विभागको लक्ष्य छ ।

सोका लागि काठमाडौं उपत्यकाका पाँच स्थानमा ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन’ जडान गर्ने तयारी भएको विभागका प्रवक्ता डा.टोकराज पाण्डेले जानकारी दिए । ‘नागढुंगा, फर्पिङ, साँगा, जोरपाटी र नागार्जुनका प्रहरी कार्यालयसँगै रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन जडान गर्ने गरी तयारी भएको छ, यसपछि उपत्यकामा चोरी, आपराधिक घटना नियन्त्रण र ट्राफिक व्यवस्थापनमा पनि सहयोग पुग्नेछ’, उनले भने ।

इम्बोस्ड नम्बर प्लेट लागू नहुँदा आपराधिक घटना गराएका सवारी समात्न असजिलो हुँदै आएको थियो । इम्बोस्ड नम्बर प्लेट हाल वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्तकुनाले साना ठूला सवारीमा मात्र जडान गरिरहेको छ । केही समयपछि अन्य प्रदेशमा पनि सुरु गरिने विभागको तयारी छ । रासस