Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


पहिलो चरणको निर्बाचनबाट यी चर्चित नेताको हुँदैछ ‘भाग्य’ फैसला


0
Shares

यद्यपि, आज निर्वाचन भइरहेका क्षेत्रको मतगणना भने मंसिर २१ गतेपछि मात्र हुनेछ । आइतवार हुने मतदानले गोरखा, नुवाकोट, सिन्धुपाल्चोकलगायतका जिल्लामा प्रतिस्पर्धा गरिरहेका केही हेभीवेट नेताको भाग्य फैसला गर्दैछ ।

जसमध्ये गोरखाको क्षेत्र नम्बर २ मा पूर्वप्रधानमन्त्री एवं नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र माओवादी बरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीचको चुनावी प्रतिस्पर्धा निकै रोचक हुने देखिंदैछ ।

भट्टराई नेपाली कांग्रेससँग मिलेर र श्रेष्ठ एमालेसँग मिलेर प्रतिष्पर्धामा होमिएका हुन् ।

यता, नुवाकोटमा भावी ‘प्रधानमन्त्री’ को दावी गर्दै कांग्रेस नेताहरु क्षेत्र नम्बर १ बाट डा. रामशरण महत र अर्जुननरसिंह केसी मैदानमा छन् भने उनीहरुका प्रतिस्पर्धीका रुपमा माओवादी केन्द्रका हितबहादुर तामाङ र नारायण खतिवडा छन् ।

प्रतिस्पर्धीका तुलनामा दुबै नेता ‘हेभीवेट’ मानिएपनि स्थानीय तह निर्वाचनमा प्राप्त मत दुबैका लागि निकै चुनौति बनेको छ ।

सिन्धुपाल्चोकमा भने क्षेत्र नम्बर १ मा बहालवाला सञ्चारमन्त्री एवं कांग्रेस उम्मेदवार मोहनबहादुर बस्नेत र पूर्व सञ्चारमन्त्री माओवादी उम्मेदवार अग्नी सापकोटाको रोचक प्रतिस्पर्धा हुँदैछ ।

क्षेत्र नम्बर २ मा भने राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिसमशेर राणा एमाले उम्मेदवार शेरबहादुर तामाङसँग अग्निपरीक्षामा छन् ।

उता, ताप्लेजुङमा भने एमाले सचिव योगेश भट्टराईलाई कांग्रेस उम्मेदवार केशव दाहालले चुनौति दिइरहेका छन् । पाँचथरमा कांग्रेस नेता भीष्मराज आङदेम्बे र एमालेका बसन्त नेम्वाङको प्रतिष्पर्धा पनि रोचक हुँदैछ ।

सोलुखुम्बुमा कांग्रेस नेता बलबहादुर केसीको भाग्य फैसला हुँदैगर्दा ओखलढुंगामा दुई युवा नेता कांग्रेसका रामहरि खतिवडा र एमालेका यज्ञराज सुनुवारको भाग्य परीक्षा हुनेछ ।

मुस्ताङमा पूर्व मन्त्री एवं कांग्रेस नेता रोमी गौचनलाई मौसमी चिसो र चुनावी तातो चिनुपर्ने दबाब छ भने लमजुङका मतदाताले कांग्रेस नेता दिलबहादुर घर्ती र माओवादी केन्द्रका देव गुरुङ मध्ये कसलाई चुन्लान् भन्ने चासो पनि उत्तिकै छ ।

जाजरकोटमा कांग्रेसका राजिवविक्रम शाह र माओवादी केन्द्रका शक्ति वस्नेतबीचको तीब्र प्रतिस्पर्धामा कस्ले बाजी मार्ने भन्ने छ भने रुकुम पश्चिममा माओवादीकै जनार्दन शर्माको चुनाव उत्तिकै रोचक छ ।

रोल्पामा माओवादी केन्द्रका वर्षमान पुन र कांग्रेसका अमरसिंह पुनबीच प्रतिस्पर्धा हुँदै गर्दा कालीकोटमा कांग्रेसका भुपेन्द्रजंग शाही र माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीबीचको प्रतिस्पर्धा रोचक बनेको छ ।

पहिलो चरणमा हुन लागेको ६ वटा प्रदेशका प्रदेशसभातर्फ प्रतिष्पर्धी मूख्य मन्त्रीका दावेदार मानिएका केही नेताको भाग्य परीक्षा पनि यही निर्वाचनमार्फत् नै हुँदैछ ।

आइतवार विहान सात बजेदेखि साँझ ५ बजेसम्म मत खसालेका मतदाताको बक्साभित्र बन्द मतले कुनकुन नेताको भाग्य फैसला गर्ने हो त्यो भने मंसीर २१ पछि गरिने मतगणनाबाट मात्र टुंगो लाग्नेछ ।