
काठमाडौं, पुस ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजार र दमकका कर्मचारीसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले मालपोत कार्यालय डिल्लीजारका मालपोत अधिकृत केशवप्रसाद नेउपाने, राजेन्द्र फुयाँल, नायबसुब्बा लक्ष्मणप्रसाद भट्टराई, खरिदार विजयभक्त श्रेष्ठ, मालपोत कार्यालय दमकका मालपोत अधिकृत अग्नि घिमिरे, नायबसुब्बाद्वय डिल्लीराम कोइराला र जयन्द्रराज खड्काविरुद्ध मुद्दा दायर गरेको छ ।
यस्तै, वयरवन–९, मोरङका फौदराज लिम्बू र अभिवक्ता चन्द्रप्रसाद खनालविरुद्ध रु एक करोड २० लाख बराबरको बिगोसमेत असुलउपर गर्न माग गर्दै आयोगले बुधबार मुद्दा दायर गरेको जनाएको छ ।
आयोगकाअनुसार मालपोत कार्यालय डिल्लीबजार र दमकका कर्मचारीको मिलेमतोमा टेकमाया आङहाङको नाममा रहेको जग्गाको कीर्ते जग्गाधनी खडा गरी बिक्री गरेको पाइएको छ ।
झापा, दमक नगरपालिका–४ मा रहेको कित्ता नम्बर ४८७३ र ४८७५ को जग्गाको कीर्ते जग्गाधनी दर्ता प्रमाणपुर्जा बनाइ नक्कली जग्गाधनी खडा गरी मालपोत कार्यालय डिल्लीबजारबाट २०६९ साल फागुन ३१ मा जिल्लाबाहिरको (बेजिल्ले) रजिस्ट्रेसनको लिखत पारित गराएको आयोगको दाबी छ । रासस
प्रतिक्रिया दिनुहोस्