१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


हस्ताक्षर बिनाको मतपत्र दिने मतदान अधिकृत कारबाहीमा


0
Shares

मतदानका क्रममा गलत नियत देखाएका मध्यनेपाल–७ कुष्माकर मावि ‘ख’ केन्द्रका मतदान अधिकृत कुमारनाथ न्यौपाने कारबाहीमा परेका हुन् ।

बिहान ७ बजेदेखि सुरु भएको शान्तिपूर्ण निर्वाचनमा राजनीतिक आस्थाको आधारमा मतदातालाई हस्ताक्षर बिनाको मतपत्र दिएको भन्दै उजुरी परेपछि उनी कारबाहीमा परेका हुन् । न्यौपानेले कांग्रेस पक्षधर मतदातालाई हस्ताक्षर नगरी मतपत्र दिएका थिए ।

मतदानका क्रममा स्थानीय मतदाताले मतपत्रमा हस्ताक्षर नदेखेपछि उजुरी गरेका थिए । त्यसअघि २०० भन्दा बढीले मतदान गरिसकेको जनाइएको छ । न्यौपानेले ४० भन्दा बढी मतपत्रमा हस्ताक्षर नगरेको अनुमान गरिएको छ ।

सोही विषयमा विवाद भएपछि स्थानीय राजनीतिक दल र निर्वाचन अनुगमन समितिको बैठक बसी मतदान अधिकृतलाई जिम्मेवारीमुक्त गरिएको छ । सो मतदान केन्द्रमा खटिएका सहायक निर्वाचन अधिकृतलाई मतदान अधिकृतको जिम्मेवारी दिइएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए ।

मतदान केन्द्रमा विवाद भएपछि दुई घन्टाभन्दा बढी मतदान रोकिएको थियो । १२३ मतदानस्थल र १६५ मतदान केन्द्र रहेको लमजुङमा अन्य स्थानमा शान्तिपूर्ण तरिकाले मतदानसम्पन्न भएको छ । रासस