Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


एन्फा निर्वाचनमा आर्थिक अनियमितता भएको दाबीसहित अडियो टेप सार्वजनिक


0
Shares

काठमाडौं, पुस ११ । अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनमा आर्थिक अनियमितता भएको दाबीसहित चार जिल्ला फुटबल संघले अडियो टेप सार्वजनिक गरेका छन् ।

बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ जिल्ला फुटबल संघले गत वैशाख २२ गतेको निर्वाचनकाक्रममा आर्थिक लेनदेन भएको दाबीसहित निर्वाचनको ८ महिनापछि अडियो टेप सार्वजनिक गरेका हुन् ।

सार्वजनिक अडियो टेपमा एन्फाका मानार्थ अध्यक्ष तासी घले, महासचिव इन्द्रमान तुलाधर, कोषाध्यक्ष रविन जोशी, सदस्यहरु दावा लामा र मधुसूदन उपाध्यायसँगै धनुषा जिल्लाका अध्यक्ष दीपक खातीको स्वर सुन्न सकिन्छ ।

अडियोमा चुनावको परिणाम आफ्नो पक्षमा पार्न गरेको कुराकानी समावेश गरिएको छ ।

चार अध्यक्षहरु काठमाडौंका विराटजंग शाही, ललितपुरका पुरुषोत्तम थापा, भक्तपुरका गौतम सुखजु र धादिङका दीपक खतिवडाले पत्रकार सम्मेलन गर्दै उक्त अडियो टेप फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघ एएफसीमा पेस गरिसकेको बताएका छन् ।

अनियमितता भएको आरोप लगाउँदै चुनाव नै बहिस्कार गरेका अध्यक्षका उम्मेदवार मणि कुँवर भने पत्रकार सम्मेलनमा उपस्थित थिएनन् ।

अडियोलाई पनि प्रमाण मानिने भएकाले कारबाहीका लागि फिफामा प्रमाण पठाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । अरु प्रमाणहरु पनि पेस गर्दै जाने उनीहरुले बताएका छन् ।