Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


मोरङ ६ मा चुनावी रौनकः डा.कोइराला रोज्ने कि लालबाबु ? (भिडियो)


0
Shares

लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइराला र वाम गठबन्धनबाट एमालेका पूर्वमन्त्री लालबाबु पण्डित चुनावी मैदानमा छन् ।

डा.कोइराला र नेता पण्डित होमिएको मोरङ क्षेत्र नम्बर ६ को चुनावी प्रतिस्पर्धा रोचक बन्दैछ ।

डा.कोइराला जनतासँग प्रत्यक्ष जोडिएर तिनैको दुःखसुखमा साथ दिने तथा राष्ट्रिय राजनीतिमासमेत कतिपय अडान लिने नेताका रुपमा चिनिन्छन् ।

त्यसअलवा नेपाली राजनीतिमा कोइराला परिवारको विरासतसँग पनि उहाँको नाम जोडिन्छ । कृष्णप्रसाद कोइरालादेखि जोडिएको मोरङमा यस पटक कोइराला परिवारबाट प्रत्यक्ष निर्वाचन लड्ने उनीमात्र छन् ।

अझ डा.शेखरलाई पार्टीको आगामी महाधिवेशनमा सभापति र भावी प्रधानमन्त्रीकै रुपमा चित्रण गरिएको छ । यी सबै उपलब्धि पाउन पनि डा.कोइरालालाई वाम गठबन्धनको बलियो घेरा तोडेर परिणाम आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ ।

अर्कातिर उहाँलाई टक्कर दिन काम गठबन्धनले एमाले नेता लालबाबु पण्डितलाई उतारेको छ । सामान्य प्रशासन मन्त्री हुँदाको कामबाट उनले चर्चा कमाएका हुन् ।

ग्रिनकार्ड वा पिआरधारी सरकारी कर्मचारीलाई कारबाही गरेसँगै उनले चर्चा बटुलेका थिए । इमान्दार र स्वाभिमानी नेताका रुपमा चिनिने उनी पनि मतदाता रिझाउनै व्यस्त छन् ।

आफ्ना क्षेत्रका मतदाता भेटघाट तथा घरदैलोमा व्यस्त उम्मेदवारहरु मतदातालाई पूर्वाधार विकासका आश्वासन दिएर मत तान्ने प्रयासमा छन् ।

डा.कोइराला आफ्नो लगन र इमान्दारितालाई मतदाताले अनुमोदन गर्ने विश्वास व्यक्त गर्छन् ।

नेता पण्डितलाई भने कार्यकर्ताहरु भावी राष्ट्रपतिसम्मको चर्चा गदै प्रचार गरिएको छ । उनी पनि विकासे नारा बोकेर जनताबीच पुगिरेका छन् ।

१ लाख १० हजार ३ सय २२ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा सुन्दरहरैंचा नगरपालिकाको २ देखि ७ नम्बर वडा, बुढीगंगा गाउँपालिका र विराटनगर महानगरको ४,५,६,७ तथा ९, ११ र १२ वडा सहित २९ वडा छन् ।

गत स्थानीय तहको निर्वाचनमा भने कांग्रेसले २९ हजार ९ सय ४९ मत ल्याउँदा एमालेले १७ हजार ९ सय ८२ मत पाएको थियो ।

त्यहाँ माओवादी केन्द्रको ८ हजार ३ सय ९८, फोरम लोकतान्त्रिकको ८ हजार ४८ र संघीय समाजवादी फोरमको ५ हजार ३ सय २८ मत छ. ।

यसरी हेर्दा वाम गठबन्धनको मत २६ हजार ३ सय ८० तथा कांग्रेस–लोकतान्त्रिक फोरम गठबन्धनको २८ हजार ९ सय ८८ मत देखिन्छ ।

पछि थपिएका ११ हजार २ सय ५६ नयाँ मतदाताको मन कस्ले जित्छन् भन्ने विषयले पनि जितहार सुनिश्चित गर्ने देखिन्छ ।

मुलुककै ध्यान आकर्षित गर्न सफल यस क्षेत्रमा विजयको माला कसको गलामा पर्ने हो त्यो हेर्न भने मंसिर २१ को निर्वाचनपछिको परिणाम नै कुर्नुपर्ने हुन्छ ।

(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस)