Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


बैतडीमा शृंखलाबद्धरुपमा आगजनी गर्ने पक्राउ


0
Shares

विनोदसिंह विष्ट (इमेज)

बैतडी, पुस ११ । बैतडीमा केही दिनयता शृंखलाबद्धरुपमा आगजनी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाटन नगरपालिका–४, ठाँडका ३४ वर्षीय मदनसिंह महरा रहेका छन् ।

मंगलबार बेलुका स्थानीय वीरभान महराको खरको थुप्रो (कुन्यु)मा आगजनी गरेर भाग्दै गरेको अवस्थामा उनलाई पक्रेको बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले जानकारी दिए ।

प्रहरीकाअनुसार पक्राउ परेका महराले गएको कात्तिक २५ गतेयता स्थानीयले गाईवस्तुका लागि काटेर राखेका एक दर्जन बढी खर (घाँस), पराल तथा मकैमा आगजनी गरेका थिए ।

उनीमाथि कात्तिक २५ गते नन्दादेवी महराको पराल, मकै र दाउराको थुप्रोमा आगो लगाएको आरोप छ ।

उनले पुस २ गते नरेश महराको दुई थुप्रो खर, पुस ४ गते पनि पुनः नरेशकै तीनओटा खरको थुप्रो र प्रमानन्द भट्टको तीनओटा खरको थुप्रोमा आगो लगाएको प्रहरीले जनाएको छ ।

यस्तै, पुस ८ र पुस १० गते गरी वीरभान महराको चारओटा खरको थुप्रोमा पनि पक्राउ परेका महराले आगो लगाएको स्वीकार गरेको जनाइएको छ ।

उनलाई सार्वजनिक शान्तिविरुद्धको मुद्दा दर्ता गरी कारबाही अघि बढाइने निमित्त प्रहरी प्रमुख बोगटीले बताए ।

महराले स्थानीयले हिउँदमा गाईभैंसीका लागि भनेर सुकाएर राखेको खर, पराल तथा मकैमा रातिको समयमा आगो लगाउने गरेका थिए । 

आगजनीबाट साढे दुई लाख रुपैयाँभन्दा बढीको क्षति भएको जनाइएको छ ।

महराले यसरी शृंखलाबद्धरुपमा आगजनी गर्दा स्थानीय बासिन्दा आतंकित बनेका थिए ।