३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


विवादका कारण मतपेटिका सदरमुकाम ल्याइएन


0
Shares

वाम गठबन्धन र नेपाल कांग्रेसका प्रतिनिधिहरुले विवाद गरेपछि मतपेटिका काँडामै राखिएको छ ।

दलका प्रतिनिधिहरुले मतपेटिकासँगै हेलिकोप्टरमा आफूहरु पनि सदरमुकाम चैनपुर जान पाउनुपर्ने भनेपछि विवाद भएको हो ।

तर, नेपाली सेनाले हेलिकोप्टरमा प्रतिनिधिहरुलाई सिट नपुग्ने भनेपछि तीनओटा मतपेटिका उतै छाडेर आएको जिल्ला निर्वाचन कार्यलयका प्रमुख ध्रुवकुमार भण्डारीले जानकारी दिए ।

उक्त ठाउँबाट सदरमुकाम चैनपुर आइपुग्न पैदलमार्गबाट तीन दिन लाग्छ । अहिलेसम्म त्यहाँका मतपेटिका कसरी ल्याउने भन्नेबारेमा कुनै छलफल नै नभएको जनाइएको छ ।

१६० मतदान केन्द्र रहेको बझाङमा १५९ मतदान केन्द्रका मतपेटिकाहरु भने सुरक्षित तरिकाले सदरमुकाम चैनपुर ल्याइएका छन् ।

१५९ मतदान केन्द्रका ४७७ मतपेटिका जिल्ला पशुसेवा कार्यलयको हलमा सुरक्षित राखिएका छन् भने ती तीनओटा मतपेटिका ल्याउन बाँकी छ ।

मतपेटिका राखिएको स्थानमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । उक्त स्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीले सुरक्षा दिइरहेका छन् ।