१७ श्रावण २०८२, शनिबार | Sun Aug 3 2025


चितवनबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न ३९ जना पक्राउ


0
Shares

जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा सन्चालन गरेको विशेष सुरक्षा योजनाका कारण मंगलबारसम्म जिल्लामा शान्तिसुरक्षाको अवस्था मजवुद रहेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

निर्वाचन केन्द्रित सुरक्षा योजना लागू भएपछि जिल्लामा गुन्डागर्दी र निर्वाचन विरोधी गतिविधि गर्ने ३९ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीका २० जना र विभिन्न गुन्डागर्दीमा संलग्न १९ जना रहेका छन् ।

पछिल्लो समयमा पेस्तोल र गोलीसहित खोटाङ केपीलासगढी गाउँपालिका–७ घर भई हाल भरतपुर महानगरपालिका– १६ बस्दैआएका ३७ वर्षीय पुरन भन्ने पूर्णबहादुर राइलाई प्रहरीले पक्राउ गरेको छ ।

यस्तै, विमल बराल र गुन्जसिंह गुरुङलाई समेत पक्राउ गरी मुद्दा अघि बढाइएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।

चितवनमा पछिल्ला समयमा कालिका नगरपालिका, खैरहनी र वीरेन्द्रनगरको खाली जमिनमा तीनओटा सिलिन्डर बम पड्काइएको छ । उक्त कार्यमा संलग्न केहीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला सुरक्षा समितिले जिल्लाका ५२ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेर सोही अनुसारको सुरक्षा व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए ।

केन्द्रीय सुरक्षा योजनाको आधारमा जिल्ला सुरक्षा समितिले निर्वाचन पूर्व, निर्वाचनका बेला र निर्वाचन पश्चातका फरक÷फरक सुरक्षा योजना बनाएको छ ।

जिल्लामा १७१० जना म्यादी प्रहरी र ३२९५ जना जनपद प्रहरी परिचालन गरिएको छ भने आवश्यकताअनुसार नेपाली सेना र सशस्त्र प्रहरीसमेत परिचालन हुनेछन् । रासस