१७ श्रावण २०८२, शनिबार | Sun Aug 3 2025


बढ्यो बम आतंक, भारतसँग सीमा जोडिएको झापामा सुरक्षा चुनौती (भिडियो)


0
Shares

भारतसँग सीमा जोडिएको यहाँ सुरक्षा निकायले आन्तरिक र वाह्य दुबै चुनौती चिर्नुपर्ने देखिन्छ ।

निर्वाचनको तयारी तीव्र भइरहँदा झापामा एकपछि अर्को गर्दै बम विस्फोट गराउन थालिएको छ । स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको त भनेको छ तर बम आतंक कम भएको छैन ।

उम्मेदवार र मतदान केन्द्रको सुरक्षाका साथै सीमा क्षेत्रमा निगरानी बढाइएको छ ।

केही दिनअघि दमकस्थित एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको घरको गेट र नेपाली कांग्रेसका जिल्ला सभापति तथा क्षेत्र नम्बर–२ का उम्मेदवार उद्धव थापाको गाडीमा चुनावविरोधीहरुले बम विस्फोट गराए ।

उक्त घटनाका दोषीलाई पक्रन पाउँदा नपाउँदै फेरि सोमबार राति नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री कृष्ण सिटौलाको घरको पर्खालमै बम विस्पोट गराइयो ।

लगातार विस्फोट गराउन थालिएपछि अहिले त्यहाँ तालिमप्राप्त कुकुरको सहायताले सवारी चेकजाँच थालिएको हो ।

भारतसँग सीमा जोडिएको जिल्ला भएकाले झापामा उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी विष्णुकुमार केसीले जानकारी दिए ।

निर्वाचनविरोधी गतिविधि गर्नेमाथि विशेष निगरानी गर्नुका साथै केहीलाई नियन्त्रणमा लिइएको छ ।

निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको आरोपमा झापामा हालसम्म २० जनालाई पक्राउ गरिएको छ । सुरक्षा व्यवस्था चुस्त बनाउन आवश्यक सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

निर्वाचनमा आवश्यकतानुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरिएका छन् ।

झापाका २८३ मतदानस्थलमध्ये ४९ मतदानस्थल अतिसंवेदनशील मानिएको छ भने १०५ मतदानस्थल संवेदनशील र १२१ सामान्य मानिएको एसपी केसीले जानकारी दिए ।

निर्वाचनअघि प्रशासनले हतियार बुझाउन आह्वान गरेपनि इजाजत लिएर राखिएका हतियारहरु अझै बुझाइएका छैनन् ।

पटक–पटक सूचना गर्दा पनि अहिलेसम्म १७ ओटामात्र हतियार विभिन्न प्रहरी इकाइमा प्राप्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वैधानिकभन्दा पनि चुनाव भाँड्ने नियतले प्रयोगमा ल्याइने हतियार र यत्रतत्र बम राख्नेहरु झापाका लागि चुनावी चुनौती देखिएकाले सुरक्षा चासो र निगरानी अझै बलियो बनाउनु जरुरी देखिन्छ ।

भिडियो हेर्नुहोस्