Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


गोरखामा बाबुराम र नारायणकाजीमध्ये कसले जित्छन् भन्नेमा ‘बाजी’


0
Shares

लोकतान्त्रिक गठबन्धनका तर्फबाट नयाँशक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराई र वामगठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको उम्मेदवारीका कारण गोर्खा चर्चामा रहँदै आएको हो ।

दुई नेतामध्ये एक जना पराजित हुने त निश्चित छ । यही विषयलाई लिएर गोरखामा बाजी थाप्नेहरु पनि सक्रिय देखिएका छन् ।

त्यसैले गोर्खा अहिले पनि चर्चामै छ । अहिले गोरखाको मतपेटिका उच्च सुरक्षाका साथ निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ ।

मनोनयन दर्तादेखि मतदानसम्म हेभिवेट उम्मेदवारका कारण चर्चामा रहेको गोरखामा अहिले सबैको ध्यान मतपेटिकाको सुरक्षामा केन्द्रीत भएको छ ।

२ प्रतिनिधिसभा सदस्य र ४ प्रदेशसभा सदस्यका लागि गोर्खामा भएको निर्वाचनको मतपेटिका सदरमुकामस्थित निर्वाचन अधिकृतको कार्यालयमा उच्च सुरक्षा घेरामा राखिएको छ ।

मतपेटिका राखिएको कोठाको ढोकामा ताल्चा लगाएर शील गरिनुका साथै भवनको वरिपरि काँडेतारले बारिएको छ ।

मतपेटिका सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिनुका साथै मतपेटिका सुरक्षा अवलोकनका लागि दलका प्रतिनिधिहरु पनि खटिएका छन् ।

पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा शसस्त्र र बाहिरी घेरामा सेना परिचालन गरिएको मुख्य निर्वाचन अधिकृतसमेत रहेका गोरखाका जिल्ला न्यायाधीश वसन्तराज पौडेलले बताए ।

गोरखाका दुर्गम २८ वटा मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको थियो भने अन्य स्थानको मतपेटिका सडकमार्ग हुँदै ल्याइएको जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटाले जानकारी दिए ।

नेताहरुको भविष्य बाकसमा कैद भएर बसेको अवस्थामा मतदाताले त्यसको परिणाम थाहा पाउन अझै केही दिन कुर्नुपर्ने हुन्छ ।

तर त्यसअघि नै परिणाम कसको पक्षमा आउँछ भन्ने अड्कलबाजीसमेत हुन थालेको छ । कतिपयले त कसको जित हुन्छ भन्दै बाजीसमेत लगाउने गरेको पाइएको छ ।