२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


किमले भने–‘परीक्षण निकै शक्तिशाली छ, अमेरिकाको सबै भू–भागसम्म मार हान्न सक्छ’


0
Shares

उत्तर कोरियाले सो क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली समाचार समिति ‘योनहाप’ले बुधबार बिहान जनाएको हो ।

विश्व समुदायाको आग्रह र निन्दाकाबीच नै गएको करिब साढे दुई महिनापछि उसले बुधबार बिहान सो क्षेप्यास्त्र प्रहार गरेको जनाइएको छ ।

उत्तर कोरियाको दक्षिणी प्रान्त प्योङयानको प्योङसोङबाट उक्त क्षेप्यास्त्र हानिएको सो समाचारमा उल्लेख छ । सो क्षेप्यास्त्र उक्त प्रान्तबाट पूर्वतर्फ गएको पनि जनाइएको छ ।

उत्तर कोरियाले अहिलेसम्म गरेका यसअघिका सबै परिक्षणहरुमध्ये यो पछिल्लो क्षेप्यास्त्र सबैभन्दा शक्तिशाली रहेको विश्लेषकहरुले बताएका छन् ।

उत्तर कोरियाले गरेको दाबीअनुसार यो अमेरिकी महादेशसम्म नै मार हान्नसक्ने शक्तिको रहेको छ । उक्त क्षेप्यास्त्र ५ हजार ४७५ मिटरको उचाइसम्म पुगेको थियो ।

सो क्षेप्यास्त्र करिब ५३ मिनेटमा ९५० किलोमिटर टाढासम्म पुगेको थियो ।

सो क्षेप्यास्त्र यसअघिजस्तो जापानी भूभागको माथिबाट भने नगएको बताइएको छ । तर, त्यो जापानी समुद्रमा भने खसेको अनुमान गरिएको पनि सो समाचारमा जनाइएको छ ।

उक्त क्षेप्यास्त्रले पार गरेको दूरीकोबारेमा केही बताइएको छैन । तरपनि विश्लेषकहरुले उत्तर कोरियाले संयुक्तराज्य अमेरिकाको भूमिसम्म नै भेट्नेगरी लामो दूरीसम्म मार हान्ने क्षमताका क्षेप्यास्त्रहरुको विकास गरिरहेकाले यसपटकको यो परीक्षण पनि यस्तै शक्तिको भएको जनाएका छन् ।

यसअघि, गत अप्रिल महिनामा पनि उत्तर कोरियाले एउटा ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको थियो । सो क्षेप्यास्त्र पनि निकै शक्तिशाली भएको बताइएको थियो ।

उसले यो वर्षको जुलाई महिनामा पहिलोपटक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । उत्तर कोरियाको आणविक कार्यक्रमबारे विश्वव्यापीरुपमा नै तनाव बढिरहँदा यो फेरि अर्काे क्षेप्यास्त्र हानेको छ ।

यस क्षेप्यास्त्र परीक्षणको घटनाको विश्वव्यापीरुपमा विरोध भएको छ । अमेरिका, दक्षिण कोरिया, जापान र संयुक्त राष्ट्रसंघले पनि यसको निन्दा गरेका छन् ।

यसअघिको एक परीक्षणमा उत्तर कोरियाले जापानको भूमि नघाएर समुद्रमा मिसाइल हानेको थियो । उक्त घटनाको विश्वव्यापीरुपमा नै विरोध भएको थियो ।

त्यसलगत्तै उसले ६.३ रेक्टरको कम्पन ल्याउनेगरी नै हाइड्रोजन मिश्रित परमाणु परीक्षण नै गरेको थियो । त्यस घटनापछि भने उत्तर कोरिया आगामी दिनमा थप घातक मिसाइलको तयारीमा जुटेको चिन्ता सर्वत्र व्यक्त गरिएको थियो ।

हामी आणविक शक्तिराष्ट्र भयौं : किम
यसैबीच, उत्तर कोरियाली नेता किम जोङ उनले आफू आणविक शक्तिराष्ट्र भएको घोषणा गरेका छन् ।

उनले बुधबार उत्तर कोरियाले गरेको आणविक परीक्षणको निरीक्षणपछि सो घोषणा गरेका छन् ।

उक्त निरीक्षणपछि उनले भने–‘आजको परीक्षण निकै शक्तिशाली छ, यसले अमेरिकाको सबै भू–भागसम्म हान्न सक्छ, त्यसैले म आज गर्वका साथ यो भन्न सक्छु कि हामी अब भने आणविक शक्तिराष्ट्र भएका छौं ।’

यसले आफ्नो देशलाई अमेरिकाको जस्तोसुकै आक्रमणकाविरुद्धमा पनि बचाउनसक्ने अवस्था रहेको पनि उनले बताएका छन् ।

बुधबार भएको यस परीक्षणपछि उनले उक्त ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणस्थलको निरीक्षण गर्नुका साथै यसको क्षमताकोबारेमा पनि जानकारी लिएका थिए ।

त्यसक्रममा उनले उक्त क्षेप्यास्त्र परीक्षणमा संलग्न अधिकारीहरुलाई धन्यवाद पनि दिएको उत्तर कोरियाली समाचार समिति ‘केसीएनए’ले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय महासचिवको विरोध
यसैबीच, उत्तर कोरियाले गरेको उक्त परीक्षणको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले कडा शब्दमा विरोध गरेका छन् ।

उनले बारम्बारको संयुक्त राष्ट्रसंघ तथा विश्व समुदायको आग्रहको बेवास्ता गर्दै गरेको यो आणविक परीक्षण विश्व शान्तिका लागि पनि एक चिन्ताजनक घटना भएको पनि स्पस्ट गरे ।

उनले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ–‘यो विश्व शान्तिको राष्ट्रसंघीय मान्यताको पूर्णरुपमा विरुद्धमा छ र यसले राष्ट्रसंघ तथा विश्व समुदायको शान्तिको चाहनाको अपमान गरेको छ ।’

यस क्षेप्यास्त्र परीक्षणको घटनाको विश्वव्यापीरुपमा विरोध भएको छ । अमेरिका, दक्षिण कोरिया, जापान र संयुक्त राष्ट्रसंघले पनि यसको निन्दा गरेका छन् ।

जापान र दक्षिण कोरियाले त ती देशका रक्षासम्बन्धी आकस्मिक बैठकहरु पनि आह्वान गरेका छन् । बुधबार मन्त्रिपरिषदका आकस्मिक बैठकहरु पनि बोलाइएको जनाइएको छ ।

विश्वमा बढ्दो चिन्ता
उत्तर कोरियाले बारम्बार गर्ने गरेको र एकपछि अर्काे शक्तिशाली क्षेप्यास्त्र हान्ने गरेको यस घटनाले विश्वमा नै हतियारको होडबाजी बढ्ने र यसले नागरिकको शान्तिको चाहनामा गम्भीर असर पार्ने चिन्ता विश्वव्यापीरुपमा बढाउने चिन्ता व्यक्त गरिएको छ ।

केही समयमात्रअघि पनि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा बोल्दै अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरियाको परमाणु कार्यक्रमविरुद्ध कदम चाल्न नसक्ने हो भने त्यसले घातक परिणाम ल्याउने चेतावनीसमेत दिएका थिए ।

एकातार्फ अमेरिकाले उत्तर कोरियाको यस्तो आणविक महत्वाकांक्षालाई निस्तेज पार्नका लागि चीनले नै प्रभावकारी भूमिका निर्वाह गरोस् भन्ने चाहन्छ । तर, चीनले भने यस विषयमा कुनै कडा प्रतिक्रिया दिने गरेको छैन ।

चीनले उत्तर कोरियासँग शान्ति वार्तागरी यसैका माध्यमबाट यो आणविक कार्यक्रम नियन्त्रण गर्न सकियोस् भन्ने चाहेको छ । चीनले सदैव उत्तर कोरियासँग वार्तागरी समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै आएको छ ।

यसरी आणविक परीक्षणहरुको यो पछिल्लो होडबाजीले विश्वमा युद्धको भय झन् बढ्दै गएको टिप्पणी गर्न थालिएको छ ।

विश्लेषकहरुले यस्तो अवस्थाको नियन्त्रण र निवारण गरी शान्तिपूर्ण विश्व निर्माणका लागि सबैको सकारात्मक पहल हुनुपर्नेमा जोड दिएका छन् । रासस/एएफपी