
काठमाडौं, पुस १० । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिले हिउँदे अधिवेशनको पहिलो दिन बुधबार नै दुईओटा बैठक राख्ने सम्भावित कार्यसूची तय गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार अपराह्न ४ बजे बस्ने पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सभामुख कृष्णबहादुर महराले पढेर सुनाउनेछन् ।
त्यसपछि अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीका नेताहरुले मन्तव्य दिनेछन् ।
त्यसपछि सदनमा प्रशासकीय अदालत विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने संसद सचिवालयले जनाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेश २०७५ पेस गर्नेछन् ।
प्रतिनिधिसभाको बुधबारको दोस्रो बैठकमा संसदका पूर्वसदस्य चक्रप्रसाद बाँस्तोला, पद्मरत्न तुलाधार र मोतिदेवी चौधरीको निधनमा शोकप्रस्ताव प्रस्तुत् गरी पारित गरिने सम्भावित कार्यसूची तय गरिएको बताइएको छ ।
त्यस्तै, राष्ट्रियसभामा भने राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन, विभिन्न राजनीतिक दलका नेताबाट शुभकामना मन्तव्य, कर्मचारी समायोजन अध्यादेश प्रस्तुत् हुने र बैठकको अन्त्यमा पूर्वसांसद बाँस्तोला, तुलाधर र चौधरीको निधन भएकामा शोकप्रस्ताव प्रस्तुत् गरी पारित गर्ने कार्यसूची तय भएको बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्