Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


तेह्रथुममा सीता गुरुङ र भवानीप्रसादबीच कडा टक्कर, यस्ता छन् एजेन्डा (भिडियो)


0
Shares

गाउँदेखि शहरसम्म नेता कार्यकर्ताको चहल पहल बढेको छ । निर्वाचनको माहोल बढेसँगै कुन उम्मेदवारले बाजी मार्लान् भन्ने चर्चा चुलिएको छ ।

तेह्रथुमबाट प्रतिनिधि सभामा ११ र प्रदेश सभातर्फ ‘क’ निर्वाचन क्षेत्रमा ९ तथा ‘ख’ निर्वाचन क्षेत्रमा ८ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा छन् ।

तर मुख्यगरी नेपाली कांग्रेस र बाम गठबन्धनकै बीचमा प्रतिष्पर्धा हुने देखिएको छ ।

नेपाली कांग्रेसले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ यसअघि दुई पटक समानुपातिक सांसद भइसकेकी केन्द्रिय सदस्य तथा भौतिक पुर्वाधार राज्यमन्त्री सीता गुरुङ चुनावी मैदानमा छिन् ।

उनको प्रतिस्पर्धामा बाम गठबन्धनका लागि नेकपा एमालेबाट अघिल्लो निर्वाचनमा विजयी भएका सांसद भवानीप्रसाद खापुङ चुनावी मैदानमा उत्रिएका छन् ।

कांग्रेसकी उम्मेदवार भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले संविधान कार्यान्वयन, जिल्लाको विकास निर्माण साथै युवा र महिलाका मुद्धा उठान गर्न आफुले उम्मेदवारी दिएको बताइन् ।

बाम गठबन्धनका उम्मेदवार नेता भवानीप्रसाद खापुङले पनि संविधान कार्यान्वयन र स्थायी सरकार बनाउनका लागि आफुले उम्मेदवारी दिएको बताउँछन् ।

नेपाली कांग्रेसले प्रदेश सभा ‘क’ क्षेत्रमा जिल्ला सभापति गोविन्द ढुंगाना र ‘ख’ क्षेत्रमा पुर्व कोषाध्यक्ष विजय सम्बाहाम्फेलाई उम्मेदवार बनाएको छ ।

वाम गठबन्धनका लागि एमालेले ‘क’ क्षेत्रमा जिल्ला अध्यक्ष लक्ष्मण तिवारी र ‘ख’ क्षेत्रबाट पुर्वजिल्ला अध्यक्ष तेजमान कन्दङवालाई उम्मेदवार बनाएको छ ।

प्रदेश सभाका लागि उम्मेदवारी दिएका उनीहरु सबैले विकास निर्माण, आर्थिक समृद्धि र संविधान कार्यान्वयनलाई प्रमुख एजेण्डा बनाएका छन् ।

ठूला दलका नेताले ठूलै तामझामका साथ घरदैलो अभियान गरिरहँदा साना दलहरुले पनि प्रचार प्रसारलाई तिव्र बनाएका छन् ।

जिल्लाबाट संघीय समाजवादी फोरम, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च, नेकपा माले, नयाँ शक्ति पार्टी, नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, मंगोल नेशनल अर्गनाइजेसन, राप्रपा प्रजातान्त्रिक र देशभक्त जनगणतान्त्रिक मोर्चा प्रतिष्पर्धामा छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि जिल्लामा ८९ वटा मतदान स्थल रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा ६६ हजार ६ सय ६७ जना मतदाता रहेका छन् ।

(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस)