काठमाडौं, पुस १० । थाइल्यान्डमा सम्पन्न विश्व शारीरिक सुगठनमा स्वर्णपदक जित्न सफल नेपाली खेलाडी महेश्वर महर्जन स्वदेश फर्किएका छन् ।
मंगलबार दिउँसो फर्केका महेश्वरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनासहितका पदाधिकारीले स्वागत गरे ।
विमानस्थलमा धिमेबाजासहित सयौंको संख्यामा खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।
महेश्वरले स्वर्ण जित्दा निकै गौरवको महसुस भएको प्रतिक्रिया दिए । उनले राज्यले शारीरिक सुगठनमा लगानी बढाउनुपर्ने बताए ।
थाइल्यान्डको चाङमाइमा सम्पन्न दशौं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा महेश्वरले पुरुष ७५ केजी स्पर्धामा स्वर्णपदक जितेका हुन् ।
१२ खेलाडी सहभागी उक्त प्रतिस्पर्धामा भारतीय खेलाडी दोस्रो तथा सिंगापुरका खेलाडी तेस्रो भए ।
नेपाली खेलाडीले शारीरिक सुगठनको विश्वस्तरमा स्वर्णपदक जितेको यो पहिलोपटक हो ।
समग्र अन्तर्राष्ट्रिय प्रतियोगितामा भने महेश्वरको यो दोस्रो स्वर्णपदक हो । दुई वर्षअघि भुटानमा भएको एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्समा पनि उनले स्वर्णपदक जितेका थिए ।
महेश्वर नेपाली शारीरिक सुगठनको सर्वोच्च प्रतियोगिता धर्मश्रीको १३औं संस्करणको विजेतासमेत हुन् ।








प्रतिक्रिया दिनुहोस्