सुनीता दनुवारलाई ‘टिप हिरो’ अन्तर्राष्ट्रिय सम्मान • Image Khabar Image Khabar


सुनीता दनुवारलाई ‘टिप हिरो’ अन्तर्राष्ट्रिय सम्मान


Imagekhabar
१५ असार २०७५, शुक्रबार ०९:०४

सुनीता दनुवारलाई ‘टिप हिरो’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं, असार १५ । मानव बेचबिखनविरुद्धको संघर्षमा आफ्नो जीवन समर्पित गरेबापत नेपालकी सुनीता दनुवारले ‘टिप हिरो’ अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेकी छन् ।

नेपालभरका पीडित तथा जोखिममा रहेका समुदायहरूलाई सेवा गर्ने प्रतिबद्धताका लागि शक्ति समूहकी सहसंस्थापक तथा कार्यकारी निर्देशक दनुवारलाई सम्मानित गरिएको हो ।

पीडितको संरक्षण गर्ने, दोषीलाई सजाय दिलाउने र मानव बेचबिखनबारे चेतना बढाउने दिशामा लामो समयदेखि उनी क्रियाशील छिन् ।

मानव बेचबिखनविरुद्ध सक्रिय यस संस्थाले पीडितको दृष्टिकोण सकारात्मक बनाउने र विपन्न तथा ग्रामीण नेपाली समुदायहरूमा मानव बेचबिखनसम्बन्धी जनचेतना अभिवृद्धि गर्नेलगायतका कार्य गर्दै आएको छ ।

अमेरिकी विदेशमन्त्री माइकल आर. पोम्पेओले हालै वासिङ्टनमा आयोजित मानव बेचबिखनसम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिकीकरण समारोहमा मानव बेचबिखनविरुद्धको संघर्षमा क्रियाशील दनुवारलगायत विश्वभरबाट १० व्यक्तित्वलाई उक्त सम्मानबाट सम्मानित गरेको अमेरिकी दूतावासले जनाएको छ ।

सो अवसरमा विदेशमन्त्री पोम्पेओ तथा अमेरिकी राष्ट्रपतिकी सल्लाहकार इभांका ट्रम्पले अमेरिकी विदेश मन्त्रालयको मानव बेचबिखनसम्बन्धी वार्षिक प्रतिवेदन, २०१८ सार्वजनिक गरेका थिए ।

उक्त प्रतिवेदनले आधुनिक दासत्वविरुद्ध संघर्ष गर्न विश्वभरका सरकारहरूले गरेका प्रयत्नको मूल्यांकन गरेको छ ।

साथै, प्रतिवेदनले मानव बेचबिखनको प्रकृति र दायरासम्बन्धी अद्यावधिक, विश्वव्यापी दृष्टिकोण पनि प्रस्तुत् गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मानव बेचबिखन उन्मूलनको दिशामा नेपाल सरकारले प्रगति गरेको कुरा प्रतिवेदनमा जनाइएको छ ।

प्रतिवेदनमा भनिएको छ–‘मानव बेचबिखनको रोकथामका लागि नेपालले आफ्नो प्रयत्न बढाएको छ । साथै, कानुन कार्यान्वयन तथा पीडित संरक्षणसम्बन्धी प्रयत्नमा समेत केही सुधार भएको छ ।’

मानव बेचबिखनको उन्मूलनका न्यूनतम् अन्तर्राष्ट्रिय मापदन्ड पूरा गर्नका लागि नेपालले गर्नुपर्ने सुधारसम्बन्धी सिफारिस पनि प्रतिवेदनले प्रस्तुत् गरेको छ ।

प्रतिवेदनमा सन् २००० को संयुक्त राष्ट्रसंघीय मानव बेचबिखनसम्बन्धी सन्धिमा नेपाललाई हस्ताक्षर गर्न सिफारिस गरिएको र यसबाट नेपालले मानव बेचबिखनविरुद्धको आफ्नो जारी प्रतिबद्धतासम्बन्धी बलियो सन्देश प्रवाह गर्ने भनिएको छ ।

पलेर्मो प्रोटोकलसमेत भनिने उक्त राष्ट्रसंघीय सन्धिलाई विश्वका १७३ मुलुकले अनुमोदन गरिसकेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्