Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


धनगढी प्रिमियर लिगको मिति सर्‍यो


0
Shares

काठमाडौं, पुस १० । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको मिति एक सातापछि सरेको छ ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले मंगलबार विज्ञप्ति जारी गर्दै सोही मितिमा नेपाल र युएईबीच एकदिवसीय क्रिकेट सिरिज हुने भएकाले प्रतियोगिता एक हप्तापछि सारिएको जनाएको छ ।

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि दोस्रोपटक एकदिवसीय खेल खेल्न लागेको हो ।

यसअघि, नेपालले एकदिवसीय मान्यता पाएपछि गत साउनमा नेदरल्यान्ड्ससँग पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको थियो ।

नयाँ मितिअनुसार डीपीएल माघ २६ देखि सुरु भइ फागुन ११ गतेसम्म आयोजना हुने आयोजकले उल्लेख गरेको छ ।

यसअघि, आयोजकले माघ १९ देखि फागुन ४ गतेसम्म प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको थियो ।

यस्तै, आयोजकले डीपीएलका लागि खेलाडी दर्ताको समयसीमा पनि एक हप्ता बढाएको छ ।

खेलाडी दर्ता यही पुस १७ गतेसम्मका लागि राखिएको छ । यसअघि, खेलाडी दर्ताको समय यही पुस १२ गतेसम्मका लागि तय गरिएको थियो ।

प्रतियोगिताका सम्पूर्ण खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाउनेछन् । सहभागी टोलीमा चौराहा धनगढी, सीवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन र विराटनगर किंग्स रहेका छन् ।

‘राउन्ड रोबिन’ लिगका आधारमा सन्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा सबै टोलीमा दुई/दुई विदेशी खेलाडी अनिवार्य गरिएको छ । रासस