चितवन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दाहालले बिहीबार चितवनमा संवाददातासँग कुराकानी गर्दै जनताको मन बुझेर राष्ट्रको विकासमा लाग्ने बताए ।
‘तपाइँलाई जनताले विश्वास गर्ने आधार के छ ?’ भन्ने प्रश्नमा उनले भने–‘मलाई विश्वास गर्नोस्, राष्ट्रिय–अन्तर्राष्ट्रियरुपमा मेरो पहुँच छ, जनताको मन बुझेर राष्ट्रको विकासमा लाग्नेछु ।’
‘समाजवादले जनतालाई के दिन्छ ?’ भन्ने अर्को प्रश्नमा उनको जवाफ थियो–‘हामी समाजवादको लक्ष्यमा पुग्न चाहेका छौं, त्यसका लागि देशमा विकास निर्माण र आर्थिक वृद्धि हुन जरुरी छ ।’
पूर्वप्रधानमन्त्री दाहालले अब बन्ने वाम गठबन्धनको सरकारले विकास निर्माण र आर्थिक वृद्धि गर्ने जिकिर गरे ।
वाम गठबन्धनले लोकतन्त्रलाई सुदृढ गर्ने बताउँदै उनले भने–‘हामीले लोकतन्त्र मास्न लागेका छैनांै, बरु थप सुदृढ गर्न खोजेका छौं ।’
पूर्वराजाका सम्बन्धमा कुनै टिप्पणी गर्न नचाहेको बताउँदै उनले निर्वाचनपछि प्रमुख कार्यकारीको विषय उठान हुने जानकारी दिए ।
‘घरदैलो अभियानकाक्रममा जनताले तपाइँसँग के मागे ?’ भन्ने प्रश्नमा दाहालले भने–‘जनताले विकास र समृृद्धिमात्रै चाहेका छन्, त्यसमा पनि सडक, बिजुली र खानेपानी रहेछ ।’
क्षेत्र नम्बर–३ का जनताले नदी तटबन्धन र वन्यजन्तुबाट सुरक्षाको माग गरेको पनि उनले बताए ।
अर्को एक प्रश्नमा उनले बद्लिँदो परिवेश र जनताको तीव्र आकांक्षामा आफूहरुले चाहेजस्तो काम गर्न नसकेकाले पनि आफूले जनताको खास अपेक्षा के हो भनेर बुझ्नका लागि घरघरमा पुगेको बताए ।
छोरा प्रकाशको निधनले आफूमा रिक्तता महसुस नबनाउन र पीडालाई भुल्नका लागि बिहानमा पैदलयात्रा गर्दै घरदैलो गरेर जनतासँग भेटघाट गर्दै गरेका दाहालले भने–‘मलाई पीडा र रिक्तता महसुस भएको छ, आम चितवनवासीको साथबाट यसलाई भुल्नेछु ।’ रासस









प्रतिक्रिया दिनुहोस्