
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी ‘मेरो स्वास्थ्य मेरो अधिकार’ भन्ने नारासहित ३०औं विश्व एड्स दिवस शुक्रबार (भोलि) विभिन्न कार्यक्रम गरी मनाइने बताएको हो ।
केन्दले सन् २०१६ को अन्त्यसम्म विश्वमा ३ करोड ६७ लाख व्यक्तिमा एचआइभी संक्रमण भएको अनुमान रहेको जनाएको छ । नेपालमा ३२ हजार ७३५ जनामा एचआइभी संक्रमण भएको अनुमान छ । ति मध्ये पुरुषको संख्या २० हजार २३२ र महिलाको संख्या १२ हजार ५३ रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र जानकारी दिएको छ ।
नेपालमा करिव ७० प्रतिशत एचआइभी संक्रमण असुरक्षित यौनसम्पर्कबाट हुने गरेको केन्द्रले जनाएको छ ।
केन्द्रका निर्देशक डा.विकास लामिछानेले सन् २०१० देखि २०१६ सम्ममा विश्वभर ११ प्रतिशतले नयाँ संक्रमण घटेको जानकारी दिए । उनले ४७ प्रतिशतले बच्चामा हुने संक्रमण कम भएको पनि जानकारी दिए ।
डा.लामिछानेका अनुसार नेपालमा एचआइभी भएकामध्ये १४ हजार ५४४ जनाले मात्र उपचार गराइरहेका छन् । एचआइभी संक्रमित खुलेर नआउने समस्याका कारण हाल धेरै संक्रमित उपचारको दायरामा नआएका उनको भनाइ छ ।
नेपाल सरकारले एचआइभी रोकथामका लागि यस वर्ष ५० करोड रकम विनियोजन गरेको रहेको छ भने एचआइभी संक्रमितलाई निःशुल्क औषधिका लागि १४ करोड रकम विनियोजन गरेको छ ।
नेपाल सरकारले सन् २०२० सम्ममा ९० प्रतिशत एचआइभी संक्रमितलाई संक्रमणको अवस्थाबारे थाहा पाउने र औषधिको पहुँचमा ल्याउने र औषधि खानेमध्ये ९० प्रतिशतको शरीरमा भाइरसको भार न्युन बनाउने लक्ष्य लिएको छ ।
प्रतिक्रिया दिनुहोस्