२ असार २०८२, सोमबार | Mon Jun 16 2025


पुनः मतदानको माग गर्दै उजुरी


0
Shares

चुनाव सकिएको चार दिनपछि बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गरेको हो । नेपाली कांग्रेसले वाम गठबन्धनले ‘बुथकब्जा’ गरेको आरोप लगाएको छ ।

जिल्लाको बरेङ गाउँपालिकाको धुल्लुबाँस्कोट, जैमिनी नगरपालिकाको पैंयूथन्थाप र बागलुङ नगरपालिकाको भकुन्डेमा वाम गठबन्धनले एकलौटी मतदान गरेको भन्दै पुनः मतदानको माग उजुरीमा गरिएको छ ।

नेपाली कांग्रेसका जिल्ला सभापति तथा क्षेत्र नम्बर–१ को प्रदेश (१) का उम्मेदवार दीपेन्द्रबहादुर थापा र प्रदेश (२) का उम्मेदवार प्रकाश शर्मा पौडेलले उजुरी दर्ता गराएका हुन् ।

उम्मेदवार थापाले भकुन्डे र शर्माले अन्य दुई स्थानमा ‘बुथकब्जा’ भएको उजुरीमा दाबी गरेका छन् ।

वाम गठबन्धनका स्थानीय नेता–कार्यकर्ताले आफ्ना प्रतिनिधिलाई धम्काएर धाँधली गरेकाले पुनः मतदान गराउन उजुरीमा माग गरिएको छ ।

कांग्रेसका प्रतिनिधिलाई धम्काएको र एकलौटीरुपमा मतदान गरेको आरोप लगाएर निवेदन आएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले बताए ।

उजुरीका विषयमा निर्वाचन आयोगमा जानकारी गराइसकिएको उनको भनाइ छ ।

मतदान अधिकृतको प्रतिवेदन र उजुरीलाई आयोगमा पठाउने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लामा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेस भने एक्लै गठबन्धनसँग प्रतिस्पर्धामा छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका तर्फबाट सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्का र वाम गठबन्धनबाट एमालेका सूर्य पाठक प्रतिस्पर्धामा छन् ।

प्रदेशसभा–१ मा नेपाली कांग्रेसबाट दीपेन्द्र थापा र वाम गठबन्धनबाट एमालेका इन्द्रलाल सापकोटा चुनावी मैदानमा छन् ।

प्रदेशसभा–२ मा कांग्रेसका प्रकाश शर्मा पौडेल र वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका कृष्ण थापा चुनावी प्रतिस्पर्धामा छन् ।

यही मंसिर २१ गते हुने दोस्रो चरणको चुनाव सकिएलगत्तै मतगणना कार्य सुरु हुने जनाइएको छ ।

गत आइतबार भएको पहिलो चरणको चुनावमा बागलुङमा ६५ प्रतिशत मत खसेको छ ।

अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएका मतपेटिकालाई कडा सुरक्षा घेरामा राखिएको छ । रासस