
आफू एचआइभी संक्रमित भएको कुरा उनले समाजमा खुलेरै भन्दै हिँडेकी छन् । उनी आफूमात्र नभई अरुलाई पनि बाहिर ल्याउने अभियानमा प्रतिबद्ध सहयोग समूह गठन गरेर समाजमा विभिन्न जनचेतनामूलक काममा सक्रियरुपमा लागिरेकी छन् ।
उनले २०५१ सालमा एचआइभी संक्रमित भएको थाहा पाएको तर चार वर्ष जति समाजको डरले बाहिर खुल्न नसकेको बताइन् । समाजको कुनै प्रवाह नगरी उनले २०५४ देखि आफू एचआइभी संक्रमित भएको भन्दै विभिन्न सामाजिक कार्यमा लागेकी छन् ।
‘२०५१ मा वैवाहिक जीवनमा बाँधिइन्, त्यतिबेला श्रीमान् एचआइभी संक्रमिते रहेछन उनीबाटै मलाई पनि सर्यो’ कुँवरले भनिन्, ‘श्रीमान्ले नियमित औषधि सेवन नगर्दा उहाँको अकालमै मृत्यु भयो । ‘श्रीमान्को मृत्युपछि केही समय रोग लुकाएर राखे, समाजका केही व्यक्तिले नराम्रो व्यवहार गर्न थालेपछि म आफैं बाहिर खुलैरै हिँड्न थाले, अहिले नराम्रो सुन्नु परेको छैन’ कुँवर बताउँछिन् ।
उनले जिल्लाभित्र रहेका एचआइभी संक्रमितलाई साथमा लिएर समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै आएकी छन् । ‘आफूमा एचआइभी छ भनेर समाजसँग डराएर लुकेर बस्ने होइन, समाजमा खुलेर हिँडियो भने अरुसरह नै बाँच्न सकिन्छ’ उनको भनाइ छ ।
एचआइभी संक्रमित भए पनि रोगदेखि डराउनु नपर्ने र नियमित औषधि सेवन गरे लामो समयसम्म बाँच्न सकिने भएपछि उनीमात्र होइन, उनीजस्तै धेरै संक्रमितले अहिले समाजमा खुलेरै बाहिर आउन थालेका छन् ।
रामपुरकी ४१ वर्षीया एचआइभी संक्रमित लक्ष्मी भण्डारी पनि चारवर्ष अघिदेखि समाजमा खुलेरै हिँडेकी छन् । उनलाई एचआइभी लागेको अहिले ११ वर्ष भयो तर लामो समयसम्म उनी आफैँ रोगदेखि भित्रभित्रै लडिन् पछि विस्तारै बाहिर आएको बताउँछिन् ।
भण्डारी भन्छिन्, ‘सुरुमा डर र लाजले बाहिर आउन समस्या भयो, अहिले त गाउँघरमा सबैसँग मेलापातलगायतका विभिन्न कामकाजमा खुलैरै हिँड्छु, आफूलाई एचआइभी संक्रमित हुँ भन्ने अनुभव नै हुँदैन ।’
आर्थिक वर्ष २०७३÷०७४ मा जिल्लामा ३१२ एचआइभी संक्रमित रहेका छन् । अघिल्लो वर्षको तुलनामा १७ जना एचआइभी संक्रमित थपिएका हुन् । आव ०७२÷०७३ मा २९५ जना एचआइभी संक्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए ।
गाउँगाउँमा जनचेतनामूलक कार्यक्रम सन्चालन गरिन थालेपछि पछिल्लो समय उनीहरु खुल्न थालेको उनले बताए ।
भित्रभित्रै समाजको डर र लाजका कारण रोग लुकाएर बसिरहेका एचआइभी संक्रमित अहिले स्वास्थ्य संस्थामा नै परामर्श तथा उपचारका लागि जाने क्रम बढ्न थालेको ज्ञवालीको भनाइ छ । संक्रमितमध्ये ८७ प्रतिशतले जिल्लाको मिसन अस्पतालबाट एआरटी सेवा लिदैँ आएको छ । जिल्लामा रहेका ३१२ एचआइभी संक्रमितमध्ये अहिलेसम्म ४१ जनाले समाजमा खुलैर हिँड्ने गर्छन् । रासस
प्रतिक्रिया दिनुहोस्