
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत परम्परागत खेती प्रणालीबाट किसानलाई व्यावसायिक बनाउने योजनाका लागि करिब रु २ करोड २५ लाख बजेट विनियोजन गरिएको हो ।
चालु आवमा विभिन्न अनुदानमा मात्रै करिब रु डेढ करोड खर्च गरिने परियोजनाको जोन एकाइ कार्यालयले जनाएको छ । फलेवास–४ मुडिकुवामा चालु आवका कार्यक्रम सार्वजनिक गर्दै वरिष्ठ कृषि विकास अधिकृत वसन्तकुमार श्रेष्ठले मकै बीउमा अनुदानदेखि भन्डारणका लागि मेटलविनमा समेत अनुदानको कार्यक्रम ल्याइएको बताए ।
भिरालो जमिन खनजोतका लागि मिनी पावरटेलर, मकै चुट्ने र प्रशोधन गर्ने मेसिन, कुटानी र पिसानी मिल, भकारो सुधार, साना तथा मझौला सिँचाइ, माटो परीक्षण, कृषि चुन र रासायनिक मललगायतमा पनि अनुदानको कार्यक्रम छ ।
किसान समूह तथा सहकारीलाई मागका आधारमा थप अनुदानका कार्यक्रम दिन सकिने जानकारी उनले दिए । ‘छलफल गरेर मागका आधारमा अरु अनुदानका कार्यक्रम ल्याउन सकिन्छ’ उनले भने, ‘नगरपालिका र सम्बन्धित वडास्तरसम्म छलफल गर्छौं ।’
थापाठाना, शंकरपोखरी, मुडिकुवा, खानीगाउँ, लिमिठाना र ठानामौलाका किसानलाई अनुदान वितरण गरिने उनले बताए ।
किसान कृषिमा अनुदान पाउने भएपछि हौसिएका छन् । ५०० हेक्टर जमिनमा मकै जोन कार्यक्रम सन्चालनमा छ । फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले अब जोनलाई सुपरजोनमा स्तर वृद्धि गर्ने तयारी भइरहेको बताए । रासस
प्रतिक्रिया दिनुहोस्