Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


मौसमी रुघाखोकीले बारपाकको पोखरीमा ५० जनाभन्दा बढी बिरामी


0
Shares

रुघाखोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी रोगबाट बालबालिकादेखि वृद्धवृद्धासम्म बिरामी परेका हुन् ।

बिरामीको स्वास्थ्य उपचारका लागि बारपाक स्वास्थ्य चौकीका अहेव दिवश गोइत, अनमी रबिना पौडेल, हेल्थफर लाइफकी स्वास्थ्यकर्मी आशा कोइरालालगायतको स्वास्थ्यकर्मीको समूह परिचालन गरिएको बारपाक स्वास्थ्यचौकी प्रमुख अनिलकुमार साहले बताए ।

‘बिरामी भएका गाउँलेहरु स्वास्थ्यचौकी नगई घरमा नै बस्नुभएको रहेछ । पोखरी पुगेर सबै बिरामीको स्वास्थ्य उपचार गरी औषधि दिएका छौँ’ साहले भने । पोखरीका पाँचजना भने विगत १२ दिनदेखि बिरामी थिए ।

मौसमी भाइरलले गर्दा स्थानीयबासिन्दा बिरामी परेका हुन् । पोखरीबाट बारपाक गाउँमा रहेको स्वास्थ्यचौकी पुग्न कम्तिमा तीन घन्टा पैदल हिड्नुपर्छ । ‘पोखरीबाट सौरपानीको रञ्चोकस्थित स्वास्थ्य संस्था जान आधा घण्टामै पुगिन्छ तैपनि पोखरीबासी त्यो स्वास्थ्य संस्था नगई घरमै बस्छन्’ साहले भने, ‘बारपाक आउन टाढा पर्छ ।’

पोखरी गाउँमा ठूलो संख्यामा बिरामी रहे पनि औषधिको भने अभाव नरहेको साहको भनाइ छ । महिनामा एक दिन गाउँघर क्लिनिक र खोप क्लिनिक सन्चालन गर्ने गरिएको पोखरीमा भवन निर्माण भए पनि स्वास्थ्य संस्था सन्चालन गर्न सकिएको छैन ।

भूकम्पपछि केयर नेपाल नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले रु आठ लाखको लगानी गरी दुई कोठे भवन निर्माण गरेपछि दरबन्दी अभावमा गाउँघर क्लिनिक सन्चालनमा ल्याउन सकिएको छैन । पोखरी गाउँका घरघर पुगेर बिरामीको स्वास्थ्य उपचार गरी औषधिसमेत दिएको साहले बताए । रासस