२ असार २०८२, सोमबार | Mon Jun 16 2025


झापा–१मा कांग्रेसका शर्मा कि वाम गठबन्धनका कार्की ? (भिडियो)


0
Shares

पूर्वको सीमान्त जिल्ला झापा, हेभिवेट उम्मेदवारका कारण चर्चामा छ । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओली, कांग्रेस पूर्व महामन्त्री एवं पूर्व गृहमन्त्री कृष्ण सिटौला, कांग्रेस युवा नेता विश्वप्रकाश शर्मा, माओवादी केन्द्रका नेता एवं पूर्व सञ्चार मन्त्री सुरेन्द्र कार्की यही जिल्लामा भाग्य परीक्षामा उत्रिएका छन् ।

ओलीलाई कांग्रेसका डा. खगेन्द्र अधिकारीले टक्कर दिँदा सिटौलालाई राप्रपा उम्मेदवार राजेन्द्र लिङदेन तगारो बनेका छन् । यही दक्षिणपन्थी गठबन्धन बनाएको भनेर कांग्रेसको आलोचना गर्ने एमाले अध्यक्ष ओलीले राप्रपासँग गठजोठ गरेका छन् ।

क्षेत्र नम्बर १ मा कार्की र शर्माको प्रतिष्पर्धा अर्को रोचक विषय बनेको छ । दुई बौद्धिक नेताका रुपमा स्थापित शर्मा र कार्कीले चुनावी प्रचारमा पनि आफ्नो भद्रता त्यागेका छैनन् । २०७० को संविधानसभा निर्वाचनमा एमालेका उम्मेदवार रविन कोइरालासँग झिनो मतले पराजित शर्माले जनताको माझमा रहेर दुःख सुखमा रहेकाले यस पटक विजयको यात्रा कसैले नरोक्ने आत्मविश्वास व्यक्त गरे ।

भिन्न कित्तामा उभिएका राजनीतिक दललाई समेत एक ठाउँमा उभ्याएर देशलाई एकताबद्ध गरी सम्मृद्धिको बाटोमा लैजानुको विकल्प नरहेको शर्मा बताउँछन् ।

२०६४ मा ताप्लेजुङबाट पराजित कार्की २०७० मा समानुपातिक सांसद रहे पनि यसपटक शर्मालाई रोकेर सिंहदरवारको टिकट मिलाउन निकै सकस गरिरहेका छन् । कार्की संक्रमणकाल अन्त्य गरेर देशलाई विकासको बाटो लानुपर्ने एजेण्डा सुनाउँछन् ।

दुवै नेता स्थानीय सडक निर्माण, हात्ती नियन्त्रण, नदी नियन्त्रण जस्ता चुनावी नारा लिएर जनतामाझ पुगिरहेका छन् ।

मतदाता भने चुनाव जितेर मुख नदेखाउनेभन्दा आफ्नो सुखदुःखमा साथ दिने नेता चाहिएको बताउँछन् । सुकुम्बासीलाई धनीपूर्जा दिने, बाटोघाटोलगायत विकासका क्षेत्रमा काम गर्ने उम्मेदवारलाई मत दिने उनीहरु बताउँछन् ।

सुदूरपूर्वी जिल्लाकै पनि सीमान्त क्षेत्रमा आफ्नो भाग्य निर्धारणका लागि उत्रिएका दुई उम्मेदवार शर्मा र कार्कीमध्ये कसलाई मतदाताले विजयको माला पहिर्‍याउने हुन् ? त्यो हेर्न भने मंसिर २१ कुर्नैपर्ने छ ।

भिडियो हेर्नुहोस्