१ असार २०८२, आइतबार | Sun Jun 15 2025


दोस्रो चरणको निर्वाचनको मतदान सुरु


0
Shares

४५ जिल्लामा प्रतिनिधिसभाका १ सय २८ र प्रदेशसभाका २ सय ५६ सिटका लागि मतदान सुरु भएको हो । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।

दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभातर्फ १ हजार ६ सय ६३ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ । त्ययसैगरी प्रदेशसभातर्फ २ हजार ८ सय १९ जना उम्मेदवानर प्रतिस्पर्धामा उत्रिएका छन् ।

मतदानका लागि ७ हजार ७ सय ५२ मतदान स्थल र १५ हजार ३ सय ४४ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९ सय ९३ जना मतदाता सहभागी हुँदै छन् ।

प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको कुल १ सय ६५ सिट मध्ये ३७ र प्रदेशसभाको प्रत्यक्षतर्फको कुल ३ सय ३० सिटमध्ये ७४ सिटमा मंसिर १० गते पहिलो चरणमा निर्वाचन सम्पन्न भइसकेको छ ।

पहिलो चरणमा हिमाली तथा पहाडी ३२ जिल्लामा निर्वाचन भएको थियो । आज तराईका सबै र पहाडका जिल्लामा मतदान हुन लागेको छ ।

प्रतिनिधिसभाको कुल २ सय ७५ सदस्यमा १ सय ६५ जना पहिलो हुने निर्वाचित प्रणालीबाट र १ सय १० जना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिने छन् ।

votee14

प्रदेशसभातर्फ सबै प्रदेशको गरी प्रत्यक्षबाट ३ सय ३० र समानुपातिकबाट २ सय २० जना सदस्य निर्वाचित हुनेछन् ।

जनसंख्याको अनुपातमा प्रदेशपिच्छे प्रदेशसभामा सदस्य संख्या फरक छन् । दुवै सभाको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको मतदान सँगै भइरहेको छ ।

यसैबीच निर्वाचन आयोगले विगतमा गरिएको अभ्यास जस्तै मतदाता नामावलीमा नाम भएको तर कुनै कारणले मतदाता परिचयपत्र नभएका मतदाताका लागि वैकल्पिक व्यवस्था मिलाएको छ ।

त्यस्ता व्यक्तिले फोटोसहितको सरकारी निकायबाट जारी अन्य परिचयपत्रबाट मतदान गर्न पाउने छन् ।

प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले नाम ढाँटेर अर्काको नाममा मतदान गरेमा कानुन बमोजिम सजाय हुने बताए ।

यसैबीच प्रमुख निर्वाचन आयुक्त डा.यादवले दोस्रो चरण निर्वाचनमा ढुक्क भएर मतदान गर्न आह्वान गरेका छन् ।

उनले सुरक्षा व्यवस्था कडा पारिएकाले निर्भिकतापूर्वक मतदानमा सहभागी हुन मतदातालाई आह्वान गरेका हुन् ।